उपल्लो मुस्ताङमा लेक लागेर बिरामी परेका पर्यटकको उद्धार

मुस्ताङ, वैशाख ८ । उपल्लो मुस्ताङमा लेक लागेर बिरामी परेका एक विदेशी नागरिकको आइतबार राति सकुशल आपत्कालीन उद्धार गरिएको छ । इटालियन पुरुष नागरिक वर्ष ३१ का डियागो मारियो पिन्टोलाई उपल्लो मुस्ताङमा लेक लागेर बिरामी परेपछि लोमान्थाङ गाउँपालिकाको स्वास्थ्य शाखा टोलीले एम्बुलेन्समार्फत उद्धार गरेको हो ।
उपल्लो मुस्ताङमा ९० किमी दूरीको यात्रा तय गर्दै लेक लागेर बिरामी परेका इटालियन नागरिकलाई प्रदेश अस्पताल जोमसोममा राति १२ बजेको समयमा भर्ना गरिएको थियो । प्रदेश अस्पताल जोमसोमका चिकित्सक डा विशाल सापकोटाका अनुसार लेक लागेर बिरामी परेका इटालियन नागरिकको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुुभयो । मुस्ताङको जोमसोम हुँदै अर्को दुईजना फ्रान्सेली नागरिक र तीनजना प्रथप्रर्दशक गाइडसँगै उपल्लो मुस्ताङ पुगेका इटालियन नागरिक पिन्टोलाई लोमान्थाङ पुगेपछि लेक लाग्ने समस्या देखिएको थियो ।
हिमाली जिल्ला मुस्ताङमा विसं २०८१ मा लेक लागेर दुई नेपालीसहित नौजना विदेशी पर्यटक गरी ११ जना पर्यटकले ज्यान गुमाएका थिए ।
यस्तै, विसं २०८० सालमा ६ जना नेपालीसहित १७ जना विदेशीले लेक लागेर ज्यान गुमाएका थिए । पर्वतीय क्षेत्रको उच्चस्थानमा पर्यटकहरूले यात्रा क्रममा विश्राम नगरी यात्रा गर्दा लेक लाग्ने समस्या देखिने गरेको छ । विशेषगरी उमेर पुगेका ज्येष्ठ नागरिक र दीर्घरोगका बिरामीहरूलाई बढी मात्रामा लेक लाग्ने समस्या देखिने गरेको छ ।























