राजनीति

एमाले विराटनगर महानगर कमिटीमा पूर्वराष्ट्रपति भण्डारी पक्षबाट गिरीसहितको प्यानल विजयी

नवलपुर टुडे
२०८२ बैशाख ५ | बिहान ०७:०१ बजे

विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटी अध्यक्षमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षधरका बलराम गिरीसहित प्यानलनै विजयी भएका छन् । वैशाख २ गते भएको अधिवेशनको उद्घाटन सत्रको तेस्रो दिन बिहीबार राति भएको निर्वाचनमा गिरीले रोहित कोइरालालाई ५२ मतले पछि पार्दै महानगर कमिटीको अध्यक्षमा निर्वाचित भएका हुन् ।

दोस्रो अधिवेशनका क्रममा अध्यक्ष गिरीले १ सय ७३ मत हासिल गरिरहँदा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षबाट कोइरालाले १ सय २१ मत पाएका छन् । त्यसैगरी, उपाध्यक्षमा गिरी पक्षबाट सुरज न्यौपानले १ सय ४५ मतसहित जित निकालेका छन् । उनका प्रतिस्पर्धी राम पोखरेलले १ सय ३६ मत हासिल गरे । त्यसैगरि, सचिवमा पनि गिरी पक्षका विज्ञान चापागाइ १ सय ८३ मतसहित विजयी भए । उनको प्रतिस्पर्धी नवराज काफ्ले १ सय ४ मतमा सीमित भए । उपसचिवमा हामिद आजादले १ सय ७८ मत पाइरहँदा चन्द्र शेखर विश्वास ९८ मतमा सीमित भए ।

महिला उपसचिवमा हिमा मैनाली पोखरेलले १ सय ६९ मत हासिल गरेर जित हात पारिन भने, उनको प्रतिस्पर्धी कला डाँगी १ सय ११ मत पाएर पराजित भइन् । मोरङमा पूर्वराष्ट्रपति भण्डारीको तर्फबाट विनोद ढकालले नेतृत्व गरिरहेकाछन् । यसअघि, जिल्ला अधिवेशनमा समेत ढकाल नेतृत्वले जित हासिल गरेको थियो ।

कमेन्टहरु