धर्म–संस्कृति/रीतिथिति, मनोरन्जन, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

बिसु पर्व नजिकिए सँगै गाउँघरमा चहलपहल बढ्दै

उमेश रोकाया
२०८१ चैत्र २९ | मध्यान्ह ०९:१२ बजे

बाजुरा , चैत २९ । बाजुरा सहित सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा मनाइने बिसु पर्व नजिकिएसँगै गाउँघरमा चहलपहल बढेको छ । यतिखेर गाउँघरमा घर लिपपोत देखि रोजगारी तथा पढाईका लागि घर बाहिर रहेकाहरू घर फर्कने क्रम बढेसँगै चहलपहल समेत बढेको हो । बिसु पर्व सुदूरपश्चिमेलीले धुमधामसँग मनाउँछन् ।

बिसु पर्व आउनु पूर्व नै सुदूर पहाडका घर रातो माटो र कमेरो माटोले रङ्गिन थालेका छन् । नयाँ वर्ष आउनुभन्दा पहिले नै घर लिपपोत गरेमा वर्षभरी नै सुख, शान्ति र समृद्धि कायम हुन्छ । भन्ने जनविश्वास रहेको बुढिनन्दा नगरपालिका – १० का स्थानीय हिरा बोहराले बताउनुभयो । चैत सुरु भएपछि घर लिपपोत गर्नका लागि धेरै टाढासम्म कमेरो र रातोमाटो लिन जाने गरेको स्थानीयहरु बताउँछन् ।

कमेरोले घरको माथिल्लो भाग र रातोमाटोले घरको तल्लो भागमा लिप्ने पोत्ने चलन रहेको छ । त्यस्तै नयाँ वर्ष तथा बिसु पर्वमा विभिन्न सहर तथा भारत गएकाहरू पनि घरफर्किन थालेसँगै झन गाउँमा चहलपहल पनि बढेको छ । बिसु पर्वको अवसरमा बिहे गरेर पराई घर गएका छोरी चेलीसमेत माइत जाने चलन पनि छ ।

बिसुको दिन कुलदेवताको पूजा गरी स्थानीय खानाको परिकार माडा खाने चलन रहेकोे छ । बिसु पर्वका अवसरमा बाजुरा सुदूरपश्चिममा देउडा संस्कृती कार्यक्रम लगायत विभिन्न सास्कृतिक झल्काउने गरेर सानो देखि ठुलोसम्मका मान्छेहरू गाउने नाच्ने संगै स्थानीय पोशक लगाउने प्रचलन समेत रहेको छ ।

कमेन्टहरु