तीनकुने घटनामा मारिएका दुवै जनाको परिवारलाई पाँच/पाँच लाख रुपैयाँ सहयोग दिने दुर्गा प्रसाईँको घोषणा


काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईँले बुधबार एक भिडियो सन्देश जारी गर्दै चैत १५ गते तीनकुने घटनामा मारिएका दुवै जनाको परिकोवारलाई पाँच/पाँच लाख रुपैयाँ सहयोग दिने घोषणा गरेका छन्।
कुनै अज्ञात ठाउँमा खिचिएको ८ मिनेट ३० सेकेन्ड लामो भिडियोमा उनले आफू नभागेको तर जोगिएको बताएका छन्। ‘म भागेको होइन, जोगिएको मात्र हो,’ उनले भिडियोमा भनेका छन्। उनले आफू रहेमात्र राजसंस्था पक्षधरको अभियान र जनविद्रोह सफल हुने भन्दै आफूलाई सिध्याउने षड्यन्त्रका कारण सार्वजनिक नभएको प्रस्टोक्ति दिएका छन्।
उनले गोञ्जालोलाई पक्रेर मारेरपछि पेरूको विद्रोह सकिएको उदाहरण दिँदै आफू नेपालमै सुरक्षित स्थानमा बसेको दाबी गरेका छन्।उनले प्रहरी प्रमुख दीपक थापासमेतलाई सम्बोधन गर्दै स्वागत नेपाल, भीमार्जुन आचार्य, ओमप्रकाश अर्याललगायत पाँच जना वकिल र पाँच जना मानवअधिकारवादीको रोहवरमा आफू सार्वजनिक हुन तयार रहेको पनि घोषणा गरेका छन्।
उनले आफ्नो जीउज्यानको सुरक्षा हुने अवस्थामा २४ देखि ३६ घन्टाभित्र सार्वजनिक हुने वचनवद्धता पनि व्यक्त गरेका छन्।
चैत १५ गतेको घटनामा राजसंस्था पक्षधरको सभामा राष्ट्रिय गान गाउँदागाउँदै टियर ग्यास र गोली हानिएको उल्लेख गर्दै ३ बजेर ७ मिनेटमा गर्ने भनिएको घोषणा बिथोलिएको पनि उनले बताए। ‘मलाई सिध्याउन प्रचण्ड, केपी ओली र एकजना राजावादीकै भनिने पार्टीका नेता पनि लागे,’ उनले दाबी गरेका छन्।























