जग्गा विवादमा भाईमाथि बन्दुक ताकेर हान्न खाेज्ने दाई हतियारसहित पक्राउ

पर्सा । पर्सामा जग्गाको विषयमा भएको झगडाका क्रममा आफ्नै भाईमाथि बन्दुक ताकेर चलाउन खोज्ने एक जना पक्राउ परेका छन् । जग्गाको विषयमा दाजुभाइबीच झगडा हुँदा बन्दुक निकालेर चलाउन खोज्ने दाईलाई कटुवा पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हाे ।
प्रहरीले सखुवा प्रसौनी गाउँपालिका–६ एकडर्वा बस्ने ६० वर्षीय वीरेन्द्र यादवलाई पक्राउ गरेको पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए । उनका अनुसार बुधबार गाउँमा जग्गाको विषयमा वीरेन्द्र र उनका भाइ ५५ वर्षीय सिकेन्द्र यादवबीच झगडा भइरहेको थियो। त्यही बेला दाजु विरेन्द्रले आफूसंग भएको कटुवा पेस्तोलले निकालेर चलाउन खोजे । वीरेन्द्रले बन्दुक प्रहार गर्न खोज्न लाग्दा घटनास्थलमा पुगेको प्रहरीले लगत्तै उनलाइ पक्राउ गरेको प्रहरी नायब उपरीक्षक लम्सालले बताए ।
वीरेन्द्रको साथबाट एक थान कटुवा पेस्तोल र चार राउण्ड गोली बरामद भएको पर्सा प्रहरी नायब उपरीक्षक लम्सालले बताए । प्रहरी चौकी महुवनबाट खटिएको प्रहरी टोलीले यादवलाइ पक्राउ गरेको हो ।उनको साथबाट प्रहरीले ना २३ प ४८७७ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको लम्सालले बताए ।
बन्दुक र गाेली सहित पक्राउ परेका वीरेन्द्रलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको र उनिविरुद्ध हातहतियार तथा खरखजाना कसुरमा पर्सा जिल्ला अदालतबाट ५ दिनकाे म्याद लिई आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक लम्सालले जानकारी दिए ।























