अमलेखगञ्जमा लागूऔषध अफिमसहित बहुदरमाईका सरोज

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले २ किलो ९९ ग्राम लागूऔषध अफिमसहित एक जना पुरुषलाई नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले बुधवार बिहान जीतपुरसिमरा उपमहानगरपालिका – २१ अमलेखगञ्जस्थित चेक प्वाइन्टबाट उनलाई नियन्त्रणमा लिएको प्रहरीले दाबी गरेको छ ।
इलाका प्रहरी कार्यालय अमलेखगञ्जका प्रमुख, प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) टेक बहादुर कार्कीको कमान्डमा रहेको टोलीले हेटौँडाबाट वीरगञ्जतर्फ आउँदै गरेको प्र.२-०३-००९ प ३८७८ नम्बरको १५० सिसीको पल्सर मोटरसाइकललाई रोकेर चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा मोटरसाइकलको सिटमुनि लुकाई छिपाइ राखिएको २ किलो ९९ ग्राम अफिम जस्तो पदार्थ फेला परेको बारा प्रहरीले पठाएको प्रेस विज्ञप्तिमा दाबी गरेको छ ।
पक्राउ पर्नेमा पर्सा जिल्लाको बहुदरमाई नगरपालिका – ६ निवासी ३२ वर्षीय सरोज प्रसाद साह रहेका छन् । उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीले लागूऔषध ओसारपसारविरुद्धको अभियानलाई तीव्र पारेको र यस घटनाले अभियानमा महत्त्वपूर्ण सफलता प्राप्त भएको बताएको छ ।























