देश

धनगढीमा प्रहरी र स्थानीयबीच झडप हुदा १३ जना सुरक्षाकर्मी सहित स्थानी घाइते

जगत ठाडा मगर
२०७८ साउन ६ | बिहान ०९:०४ बजे

कैलाली । धनगढीमा पानी निकासबारे भएको विवाद बढेपछि मंगलबार सुरक्षाकर्मी र स्थानीयबीच झडप भयो ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को हाटबजार, विद्युत सब स्टेशनलगायतका क्षेत्रमा जमेको पानी निकास गर्न खोज्दा मंगलबार साँझ स्थानीय र प्रहरीबीच झडप भएको हो । झडपका क्रममा सात जना नेपाल प्रहरी र ६ जना सशस्त्र प्रहरी गरी १३ जना सुरक्षाकर्मी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । झडपमा परि केही स्थानीय पनि घाइते छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार स्थानीयले ढुंगा प्रहार गर्दा १३ सुरक्षाकर्मी घाइते भएका हुन्। झडपका क्रममा प्रहरीले लाठी चार्ज गर्दा केही स्थानीय पनि घाइते भएको वडा नम्वर २ का बासिन्दाले बताएका छन्। प्रहरीका अनुसार वडा नम्बर २ का दुई जनालाई पक्राउ गरिएको छ।

झडपको स्थितीलाई नियन्त्रणमा लिन ५७ राउण्ड अश्रुग्यास प्रहार गर्नुपरेको कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए । हाट बजार र विद्युत कार्यालयको सब स्टेशन जलमग्न भएपछि मोहनापुल–अत्तरिया ६ लेन सडकमा निर्माण गरिएको कल्भर्ट खोलेर पानी निकास गरिएको उनले बताए ।

कमेन्टहरु