काभ्रेका किसानलाई कफी उत्पादन प्रविधि तालिम

धुलिखेल (काभ्रेपलाञ्चोक), चैत १३ । महाभारत गाउँपालिका–५ का कफी उत्पादक किसानलाई उत्पादन र प्रशोधन प्रविधिसम्बन्धी तालिम दिइएको छ ।
महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले कृषिलाई उद्यमका रूपमा विकास गर्न सर्वप्रथम बाटो र बिजुलीलगायत पूर्वाधार निर्माण आवश्यक भएकाले पालिकाले त्यसलाई नै प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।
कृषि विकास कार्यालयका प्रमुख कुलप्रसाद दवाडीले महाभारत गाउँपालिकामा गत वर्षदेखि सामुदायमा आधारित एक वडा एक उत्पादन कार्यक्रम सञ्चालन हुँदै आएकामा यस वर्ष कफी उत्पादन वृद्धिका लागि तालिमको व्यवस्था गरिरहेको बताउनुभयो ।
कृषि विकास कार्यालयले यस वर्ष ४० हजार कफीका बिरुवा वितरण गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । यस वर्ष सो वडामा प्रदेश सरकारको रु ३० लाख, गाउँपालिका र किसानको रु १०–१० लाख गरी रु ५० लाख लागत साझेदारीमा कफी प्रशोधनमा प्रविधि भित्र्याइने जनाएको छ ।
महाभारत साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष हस्तबहादुर दर्लामीले नवीन प्रविधि भित्रिएपछि उत्पादकत्व वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।























