नेपाली कांग्रेस चितवनले चैत १६ गते देखि २६ गतेसम्म सदस्यता नविकरण अभियान संचालन गर्ने


चितवन, चैत १२ । नेपाली कांग्रेस चितवनले सदस्यता नविकरण अभियानको दोश्रो संस्करण संचालन गर्ने भएको छ । जिल्लाका ९८ वटै वडामा चैत १६ गते देखि २६ गतेसम्म अभियान संचालन हुने नेपाली कांग्रेस चितवनका सचिव ध्रुवराज पोखरेलले जानकारी दिए ।पार्टीको गत फाल्गुन १८ गतेको वैठकको निर्णय अनुसार सचिव पोखरेलको संयोजकत्वमा सात सदस्यीय क्रियाशील सदस्यता नविकरण समिति गठन गरी अभियानको तयारी गरिएको हो ।
१५औ महाधिवेशन प्रयोजनका लागि आधार स्तम्भको रुपमा रहेको सदस्यता नविकरणका क्रममा तीन प्रकारका सदस्य विध्यमान रहेको चितवन काँग्रेसले जनाएको छ । अघिल्लो पटकको अभियानमा नविकरण गराएका करिब अठार हजार सदस्य, नविकरण छुट भएका चौंधों महाधिवेशनका क्रियाशील सदस्य र त्यसभन्दा पहिलाका क्रियाशील नविकरण छुट भएका सबै सदस्हरुलाई एकै साथ नविकरणको लागि आह्वान गरिएको छ । पुरानो सदस्यता नविकरण सकिएपछि आवश्यकताको आधारमा नयाँ क्रियाशील सदस्यता वितरण गरिने जिल्ला सभापति राजेश्वर खनालले बताए ।
नविकरण अभियानलाई व्यवस्थित र पारदर्शी वनाउनका लागि जिल्ला समितिले क्षेत्रगत रुपमा अभिमुखिकरण कार्यक्रम समेत आयोजना गरेको छ । नविकरण अभियानका संयोजक पोखरेलका अनुसार तीन वटै क्षेत्रमा वडा सभापति, पालिका सभापति, प्रदेशसभा सभापति र क्षेत्रीय सभापतिको उपस्थितिमा अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको छ । उहॉंका अनुसार चैत्र १४ गते क्षेत्र नम्बर १ र चैत्र १५ गते क्षेत्र नम्वर २ र ३ मा नवीकरण सम्वन्धि अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको छ ।
अभिमुखिकरण कार्यक्रमको अध्यक्षता सम्वन्धित क्षेत्रीय सभापतिले गर्नेछन् भने पालिका सभापति,प्रदेशसभा सभापति र जिल्ला प्रतिनिधिहरुले नवीकरण अभियानको अनुगमन गर्नेछन ।























