मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

सुस्तायो अभियान बिउँतियो छाउप्रथा

उमेश रोकाया
२०८१ चैत्र १० | मध्यान्ह ०४:१२ बजे

बाजुरा, चैत ८ गते । बाजुरामा छाउप्रथा रोक्ने अभियान सुस्त बन्दै गएपछि महिनावारी भएका महिलाहरु फेरी छाउँ गोठमा सुत्न थालेका छन् । यहाँका धामीझाँक्रीहरुले महिनावारी भएका महिलाहरुलाई घरमा राख्दा देवि देउता रिसायो भन्दै उनीहरुलाई पछिल्लो समय डर देखाउँन थालेपछि उनीहरु धमाधम छाउगोठमा सुत्न सुरु गरेका हुन् ।

पछिल्लो समयमा यो अभियान सुस्त हुनु र गाउँमा धामी झाँक्रीले पनि महिनावारी भएका महिलालाई दिनानुदिन रिसाउँदै जानुले पछिल्लो समय यहाँको छाउप्रथा कायमै रहँदै आएको हो । यहाँ केही समय पहिला जिल्लाका विभिन्न स्थानीय तहमा निर्माण गरेको झण्डै ५११ वटा छाउगोठ भत्काइएका थिए ।

छाउगोठ भत्किएपछि त्यति बेला यहाँका महिलाहरु आफ्नै घरमा बस्न थालेका हुन । अहिले त्यो अभियान विस्तारै सेलाउँदै गएपछि यहाँका महिला देउताको डरले फेरि छाउगोठमा सुत्न थालेका हुन्छ । जसरी अघिपछि घरमा सुत्ने गरेकी थिए । त्यसै गरी महिनावारी भएका बेलामा घरमै सुत्ने चाहाना हुन्छ । तर के गर्ने यहाँका बुढापाखा तथा धामीझाँक्रीले देवताको डर देखाएर रिसाउँने गरेपछि छाउगोठमा सुत्ने गरेको बुढीगङ्गा नगरपालिका वडा नं – ८ की नाम परिवर्तन पार्वती थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “ महिनावारी भएको बेलामा छाउँगोठमा सुत्ने गरेकोले आफु हिउँदको चिसोमा बिरामी हुन्छु ।समाजका अगुवा नै यो प्रथाका नाइके भएपछि रोग भन्दा पनि मेरो लागि देवताको डर ठुलो भएको छ । ” अहिले पनि म महिनाको एक पटक अनिवार्य महिनावारी हुन्छु । त्यो महिनावारी भएको बेलामा मलाई मेरा घरकोले भित्र सुत्न नदिएपछि पाँच दिन सम्म छाउगोठमा सुत्ने गरेको थापाले बताउनुभयो ।

यो व्यथा केवल पार्वती थापाको मात्र होइन, यहाँका बडिमालिका , त्रिवेणी , खप्तड छेडेदह बुढीनन्दा , जगनाथ , हिमाली , गौमुल र स्वामीकार्तिक लगायतका अन्य स्थानीय तहका महिलाहरुको पनि अवस्था उस्तै छ ।

यहाँका पढेलखेका तथा जागिरे महिलाहरु समेत छाउगोठमा सुत्ने गरेका छन् । उनीहरु आफु केही जानकार भएपनि समाजमा रहेका ती बुढापाखाहरुको डरमा छाउगोठमा सुत्ने गर्दछन् ।

यहाँ पहिला जब छाउगोठ भत्काउने अभियान सुरु गरेको थियो । त्यति बेला यहाँका महिलाहरु सबै डरले घरघरमै सुत्न थालेका थिए ।

पछिल्लो समयमा यो अभियान सुस्त भएपछि अहिले यहाँका महिला फेरी छाउगोठमा सुत्न थालेको खप्तड छेडेदह गाउँपालिका –१ काँडाका नाम परिवर्तन पवित्रा देखि रावतले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिलेका पुस्ताले मानेको चलन चल्ती नयाँ पुस्ताले अँगाल्दै आएकोले यो प्रथाको अन्त्य गर्न निकै सकस भएको छ । ”

उसो त २०७६÷७७ सालमा बडिमालिका नगरपालिका भित्रका ५ वडालाई छाउगोठ मुक्त वडा घोषणा गरेका थिए । बीचमा कोरोनाको कहरका कारण यो अभियान सुत्त बन्यो । नगरका केही वडामा छाउगोठ मुक्त वडा घोषणा गर्न बाँकी नै रहे ।

ती बाँकी रहेका ठाउँका अधिकाशं महिलालाई यो अभियानले केही प्रभाव नपारेपछि छाउप्रथा कायमै रह्यो ।

त्यसपछि यो सिकाई अन्य ठाउँका महिलाले पनि गर्दै आएपछि अहिले गाउँ गाउँमा धमाधम छाउगोठ निर्माण हुन थालेका हुन् ।

अहिले बडिमालिका नगरपालिकाका घाँगर, पीनालेख, जुगाडा, रजातोली, मार्तडी लगायत ४ वडामा यो अभियान सफल हुन नसकेपछि यहाँका महिलाहरुलाई विभन्नि जनचेतना मुलक अभियान सुरु गर्दै आएको रावतले बताउनुभयो ।

गाउँमा धमाधम छाउगोठ निर्माण हुन थालेपछि केही महिना अघि बडिमालिका नगरपालिकाले पुन छाउगोठ तथ्याङ्क सङ्कलन गर्ने कार्य सुरु गर्दै आएको छ ।

ताउप्रथाका कारण छाउगोठमा आगलागि हुँदा २०७६ पुस २४ गते बाजुराको बूढीनन्दा नगरपालिकाका –९ को पाण्डुसैनको अगाउँपानीमा आमा र दुइ छोरा सहित तीन जनाको ज्यान गएको थियो ।

यो घटना भएसँगै गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन पठाएसँगै बाजुराका छाउगोठ भत्काउने अभियान सुरु गरेको थियो ।

यो अभियान सुरु भएपछि बाजुराका अधिकाशं महिला महिनावारी भएका बेला अहिले पनि आआफ्नै घरको कोठामा सुत्ने गरेका छन् ।

पछिल्लो समय यहाँका केही वडामा छाउगोठ निर्माण गरेका छन् । अहिले हामी ती गोठलाई भत्काउँने अभियान गरेको छौ । केही समय पछि यहाँका सबै वडामा छाउगोठ मुक्त टोल घोषणा गर्ने तयारी रहेको बडिमालिका नगर पालिका उपप्रमुख नन्दा थापाले बताउनुभयो ।

जिल्ला प्रशासान कार्यालय बाजुराको निर्देशनमा प्रहरी ,स्थानीय र जनप्रतीनीधिहरुलाई छाउगोठ तथ्याङ्क सङ्कलन गर्न आग्रह गरेपछि २०७५÷७६ सालमा १६८ र २०७६÷०७७ सालमा ३४३ गरि बाजुराका नौ वटै स्थानीय तहमा झण्डै ५११ वटा छाउँगोठ भेटिएको र ती सबै भत्काएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी देवबहादुर चौधरीले बताउनुभयो ।

कमेन्टहरु