राजनीति

आगामी चैत १५ गतेको प्रदर्शनपछि राजनीति ट्रयाकमा आउँछ : प्रचण्ड

नवलपुर टुडे
२०८१ चैत्र ८ | मध्यान्ह ०६:१२ बजे

पर्सा । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी १५ गते काठमाडौंमा हुने जनप्रदर्शनपछि देशको राजनीति सहि ट्रयाकमा आउने आधार तय हुने दावी गरेका छन् ।

पर्साको ठोरी गाउँपालिकामा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा हुने उक्त सभामा सहभागी हुन पनि सर्वसाधरणलाई आग्रह गरे । ‘यो सरकार उल्टो बाटो हिंडिरहेको छ । त्यसकारण यसलाई बढी नै सजक गराउनु पर्ने खबरदारी गर्नुपर्ने आवश्यकता छ । त्यसमा तपाईंहरू पनि ठूलो संख्यामा उपस्थित हुन आग्रह गर्दछु, यो आउँदो १५ गते,’ प्रचण्डले भने ।

‘मलाई लाग्छ १५ गते हामीले गर्ने विरोधसभापछि देशको राजनीति सहि ट्रयाकमा आउने आधार बन्नेछ, फेरि एकचोटी जनताको पक्षमा काम गर्ने वातावरण बन्ने विश्वाससहित तपाईहरू सबैलाई बढीभन्दा बढी संख्यामा काठमाडौं आउन आग्रह गर्छु ।’ अध्यक्ष प्रचण्डले नेपाली कांग्रेस र एमालेसँगको संसर्गका कारण आफूहरूमा रोग सरेको बताएका छन् । अस्पतालबाट निको नहुने रोगको उपचारका लागि जनतासँग आएको उनले बताएका छन् । प्रचण्डले राम्रा नराम्रा कामको आत्मालोचनाका लागि आफूहरू जनताकोमा फर्केको बताएका हुन् ।

‘संसद्वादीसँग संसर्ग गर्दा हामीमा उनीहरूको रोग सर्‍यो । यो रोगको उपचार कसरी गर्ने ? जनतासँग गएर आत्मालोचनासहित तपाईहरूको वर्गमा आएका छौं,’ प्रचण्डले भने, ‘दस्तावेजमा लेखेर मात्र पूरा हुँदैन कार्यरुप दिन जनताको बीचमा जान तयार हुनुपर्छ भनेर शीर्ष नेताहरू नै हुलाकी राजमार्गमा आयौं ।’ प्रचण्डले उपनिर्वाचनसम्म आइपुग्दा ओरालो लागेको पार्टी कोशी प्रदेशमा एक नम्बर बनेको दाबी गरे । ‘स्ववियु चुनावमा प्रदेश एकमा अखिल क्रान्तिकारीले क्लिन स्वीप भएको छ । हाम्रो अभियानको पनि प्रभाव हो,’ प्रचण्डले भने ।

कमेन्टहरु