गण्डकी प्रदेशका ४५ हजार विद्यार्थीले एसईई दिँदै

नवलपुर टुडे
२०८१ चैत्र ७ | बिहान ०८:१२ बजे

पोखरा । गण्डकी प्रदेशका ११ जिल्लाबाट ४५ हजार बढी विद्यार्थी एसईईमा सहभागी हुने भएका छन् । आजबाट देशैभर सञ्चालन हुने एसईईमा ४५ हजार ७९६ परीक्षार्थी सहभागी हुन लागेका हुन् । क्षेत्रीय शिक्षा निर्देशनालय गण्डकीकी सूचना अधिकारी विमलाकुमारी शर्माका अनुसार नियमिततर्फ ३७ हजार १५ जना विद्यार्थीले एसईई दिँदैछन् ।
प्राविधिक धारका एक हजार ३९०, ग्रेडवृद्धिमा ७ हजार ३९१ सहभागी हुन लागेका हुन् । गण्डकीका एक हजार ३७४ विद्यालयका विद्यार्थी एसईईमा सामेल हुने जनाइएको छ । २०५ केन्द्र संख्या तोकिएको छ ।
गत वर्ष एक हजार ३३६ विद्यालयका विद्यार्थीले एसईई दिएका थिए । नियमितमा ४१ हजार ५१६, प्राविधिकमा एक हजार ३७६ ग्रेडवृद्धिमा २७२ गरेर कुल ४३ हजार १६४ विद्यार्थीले एसईई दिएको कार्यालयको तथ्याङ्क छ । गत वर्ष २२३ केन्द्र संख्या तोकिएको थियो ।























