सागसब्जी खेतीबाट वार्षिक सात लाख आम्दानी गरिरहेका हिराबहादुर

दमौली (तनहुँ),चैत ६ । जिल्लाको भिमाद नगरपालिका–९ पाइमीका हिराबहादुर थापा २९ वर्षदेखि सागसब्जी खेतीमा आवद्ध हुनुहुन्छ । विसं २०५२ मा थानकोटबाट सागसब्जी खेती सुरु गर्नुभएका थापाले पछिल्लो समय आफ्नै गाउँ फर्किएर खेती विस्तार गर्नुभएको हो ।
उहाँले भन्नुभयो, “खैरेनीटारमा गोलभेँडा उत्पादन भएन । जग्गाको भाडा तिर्ने खर्च पनि जुटाउन गाह्रो भएपछि माटोको परीक्षण र अनुसन्धान गरेँ । त्यहाँको माटो उपयुक्त नरहेको पाएपछि २०७९ सालमा गाउँ फर्किएँ ।”
अहिले वार्षिक रु सात लाखभन्दा बढी आम्दानी हुने गरेको थापाले जानकारी दिनुभयो । उत्पादित सागसब्जी बिक्रीका लागि बजारको समस्या नरहेको भन्दै उहाँले सिँचाइ अभाव भएकाले ४० हजार लिटरको पोखरी बनाएर प्रयोग गरिरहेको बताउनुभयो ।
दुई वटा टनेलबाट सुरु गरेको सागसब्जी खेतीलाई विस्तार गर्दै अहिले ११ वटा टनेल बनाएको थापाले बताउनुभयो । यहाँ बोडी, सिमी, काँक्रो, भिन्डी, फर्सी, लौका, अकबरे, गोलभेँडा, करेला उत्पादन भइरहेका छन् । उहाँले भन्नुभयो, “सागसब्जी कहाँ बिक्री गर्ने भन्ने समस्या छैन । दुलेगौँडा, खैरेनीटार, भिमादलगायत स्थानीयस्तरमा खपत भइरहेको छ ।”























