जेठदेखि नै अवरूद्ध रहेको लमजुङ-मनाङ सडक खुलाउन गृहमन्त्री खाँणको निर्देशन

जगत ठाडा मगर
२०७८ साउन ५ | बिहान ०८:०४ बजे

काठमाडौ । गृहमन्त्री बालकृष्ण खाँणले लामो समयदेखि अवरूद्ध रहेको लमजुङ-मनाङ सडकखण्ड खुलाउन निर्देशन दिएका छन्।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखहरू, गृहसचिवसमेतको उपस्थिति रहेको बैठकमा गृहमन्त्री खाँणले बाढीपहिरोले अवरूद्ध भएको मनाङ जोड्ने सडक खुलाउन निर्देशन दिएका छन्।
सोमबार बसेको बैठकमा गृहमन्त्री खाँणले प्राविधिक टिम बनाएर सडक खुलाउने काम थालनीका साथै अत्यावश्यक औषधि र खाद्यान्न ढुवानी गर्न सहजीकरण गर्न पनि निर्देशन दिएका छन्।
वेशीसहरबाट हेलिकप्टरमार्फत् भए पनि औषधिलगायत अत्यावश्यक सामग्री मनाङमा पुर्याउन गृहमन्त्री खाँणले निर्देशन दिएको उनको सचिवालयले जानकारी दिएको छ।
खाँणले जतिसक्दो चाँडो सडक खुलाउन निर्देशन दिएका छन्। जेठदेखि नै लमजुङ जाने सडकखण्ड अवरूद्ध छ। बाढीले पुलहरू पनि धेरै क्षति पुर्याएको छ।






















