समाचार

पोखरियास्थित एक रेडियोले होली मिलनको लागि मच्चाए चन्दा आतंक

रंजित चौरसिया
२०८१ फाल्गुन २६ | बिहान ०७:११ बजे

वीरगंज । पर्सा जिल्लाको पोखरियामा स्थापित भएको काम चलाउ एक रेडियोले होली मिलन तथा मटका फोर कार्यक्रमको लागि चन्दा आतंक मच्चाएको समाचार प्राप्त भएको छ । फागुन महिनाको अन्तिम तिर हुन लागेको सो होली मिलन तथा मटका फोर कार्यक्रमका लागि रेडियोको व्यवस्थापकले ग्रामिण भेगमा रहेका जनपद तथा सशस्त्र प्रहरीका डिएसपी, ईन्सपेक्टर, सई, हवलदार तथा घुमुवाहरु सँग छुटा–छुटै ५ सय देखि २ हजार सम्म असुल्दै चन्दा आतंक मच्चाएको एक जना घुमुवाले नाम न छाप्ने शर्तमा यस अनलाईनलाई बताए ।

बुवा काँग्रेसी, छोरा नयाँ कम्युनिष्ट तथा असुली नेकपा एमाले सँग सम्बन्ध राखेका प्रेस चौतारीको कार्य समितिमा हालसालै जितेका ग्रामिण भेगका दुई तीन जना पत्रकारहरु सँग प्रतिस्पर्धा गराउदै व्यवस्थापकले चन्दा आतंक मच्चाई रहंदा पत्रकारिता क्षेत्र बदनाम हुदै गईरहेकोमा पत्रकारिता सँग सम्बन्धित संघ संगठनहरुले मौन बसेको देखिंदा सचेत नागरिकहरु आश्चर्यमा रहेका छन् । होली मिलनको नाममा व्यवस्थापकले प्रायः गाउँपालिका तथा नगरपालिकाहरुमा लिखित रुपमा आर्थिक तथा जिन्सी सामानको माग गरेको पाईएको छ ।

कार्यक्रममा मुस्किलले १० हजार खर्च हुन सक्ने अनुमान गरिए पनि हालसम्म भिखारी जस्तो ५ सय, हजार गरी लाखौ लाख उठाईएको जनाईएको छ । पोखरिया बजारमा कार्यक्रम रहेकोले पोखरिया नगरपालिका सँग १० किलो बदाम देखि लिएर २५ वटासम्म घैला, स्पराईट, नास्ता, गम्छा, अबिर लगायतका सामग्रीहरु करिब ५० हजार बराबरको माग गरिएको छ । नगरपालिका सँग कर्मचारीलाई तलब खुवाउन पैसा नहुँदा कर्मचारीहरु आन्दोलित हुने स्थिति आईसकेको अवस्थामा रेडियोले माग गरेको सामग्री कसरी दिने भनि चर्चाको विषय बनेको छ ।

नगरपालिकाका एक दुई जना भ्रष्ट जनप्रतिनिधि तथा कर्मचारीहरुले जसरी भए पनि सामान दिने नत्र हाम्रो बारेमा केही लेख्ला, बवाल बदनाम गर्ला भनि त्रसित भई सामान दिने मनसाय बनाए पनि प्रायः जनप्रतिनिधि तथा कर्मचारीहरुले सो कार्यको बिरोध गरेको जनाईएको छ ।

कमेन्टहरु