सुस्तामा आगलागीबाट ५ घर जल्दा २७ लाख भन्दा बढी क्षती, ३ जना घाईते


नवलपरासी, फागुन २३ । पश्चिम नवलपरासीमा विद्युत मिटर सर्ट भएर आगलागी हुदा ५ घर जलेर नष्ट भएका छन । आगलागीमा परी तीन जना घाईते भएका छन । घाईते हुनेहरुमा सुस्ता गाउँपालिका- ४ बस्ने ईद्रिस अलिको श्रीमती बर्ष ४० की सतारुल नेसा(दुवै हात खुट्टा र अनुहार जलेको), सोही स्थान बस्ने बर्ष ३५ को निजामोदिन मिया(दुवै हात र दुवै खुट्टाको पंजा जलेको) र सोही स्थान बस्ने बर्ष २३ को तैमुरदिन मिया(दुवै हात सामान्य जलेको) रहेका छन । घाईतेहरुको बर्दघाटस्थित सहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचार भईरहेको छ ।
सुस्ता गाउँपालिका- ३ सेख्वाना बस्ने ५ जना दाजुभाईको टिनको छानो भएको एउटा कोठामा ईट्टाको दिवाल र अन्य कोठामा खरको टाटी र त्रिपालले छोपेको घरमा जडिट विद्युत मिटर सर्ट हुदा अचानक आगलागी भएको हो । आगलागी पश्चात तत्काल प्रहरी चौकी कुडिया, इलाका प्रहरी कार्यालय बेलाटारीबाट प्रहरी टोली खटिगई उक्त आगो प्रहरी टोली, बर्दघाट नगरपालिका, रामग्राम नगरपालिकाको कार्यालयका दमकल तथा स्थानीयहरुको सहयोगमा दिउँसो १:४५ बजे नियन्त्रणमा लिईएको हो ।
आगलागीबाट सुस्ता गाउँपालिका- ३ का ईद्रिस अली, कसिम अली, नुर महमद अली, शेख आलम मिया र अफताब अलीको घर घलेर नष्ट भएका छन । सो आगलागीबाट ५ वटा घर, अन्नपात, लत्ताकपडा, भाडाबर्तन, बोईलर कुखुरा ४ वटा, मोबाइल, पंखा, कुलर, फ्रिज, फर्निचरका सामानहरु, साईकल, सुनचाँदीका गरगहना, नगद र बिजुलीको मिटर बक्स गरी अन्दाजी रु. २७,२९,५००/- रुपियाँ बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवम प्रहरी निरीक्षक शिव कुमार क्षेत्रीले जानकारी दिएको छ ।
सोही आगलागीमा चौपायाको क्षती नभएको र घटना सम्बन्धी थप अनुसन्धान भईरहेको क्षेत्रीले बताए ।

























