कपिलवस्तुबाट स्रोत नखुलेको २८ लाख ९० हजारसहित चार जना पक्राउ

नवलपुर टुडे
२०८१ फाल्गुन २३ | मध्यान्ह ०२:११ बजे

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका–४ स्थित जितपुरबाट प्रहरीले स्रोत नखुलेको रकमसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्घाखाँची घर भएका गोविन्द विक, कपिलवस्तुको मायादेवी गाउँपालिका–८ घर भएका सोमनाथ कसौधन, रुपन्देही घर भएका वसन्त खरेल र कपिलवस्तु नगरपालिका–११ बस्ने शेषनारायण गिरी छन् ।
आरोपीहरूको साथबाट २८ लाख ९० हजार बरामद गरिएको कपिलवस्तुका एसपी निरञ्जनदत्त भट्टले बताए ।
जितपुरमा सञ्चालित केसी फेन्सी स्टोरमा फेला परेका गोविन्द विकको साथबाट ९ लाख भारतीय रुपैयाँ भेटिएको थियो । सोमनाथ कसौधनको साथमा १४ लाख नेपाली रुपैयाँ फेला परेको एसपी भट्टले जानकारी दिए । अर्का दुई जना आरोपी उनीहरूसँगै रहेको अवस्थामा पक्राउ परेका हुन् ।
उनीहरूमाथि थप अनुसन्धान र कारबाहीका लागी प्रहरीले आन्तरिक राजस्व कार्यालय रुपन्देहीमा पठाएको छ ।























