स्वास्थ्य

तनहुँको देवघाट गाउँपालिका कोटामा चितवन हस्पिटल र ह्याम्स हस्पिटलद्वारा निःशुल्क स्वास्थ्य शिविर

नवलपुर टुडे
२०८१ फाल्गुन १८ | मध्यान्ह ०५:११ बजे

चितवन, फागुन १८ । चितवन हस्पिटल प्रालि र काठमाडौंस्थित ह्याम्स हस्पिटलले तनहुँको देवघाट गाउँपालिका–१ स्थित कोटामा निःशुल्क स्वास्थ्य शिविर गरेका छन्। वडा कार्यालयसँगको सहकार्यमा गरिएको पार्वती माविमा गरिएको स्वास्थ्य शिविरमा ४ सय ४५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो।

शिविरमा दुई सय जनाको मधुमेह परीक्षण गरिएको चितवन हस्पिटलका सञ्चालक समिति सदस्य तथा पेट, छाती, मुटु तथा मधुमेह रोग विशेषज्ञ प्राध्यापक डा।विजयप्रसाद पौडेलले जानकारी दिए। उनीहरुमध्ये नयाँ १२ जनामा मधुमेह पहिचान भएको उनले बताए। शिविरमा मेडिसन, हाडजोर्नी, प्रसुती, बाल रोग, नाक, कान, घाँटीलगायतको विशेषज्ञ सेवा प्रदान गरिएको थियो। १ सय ३० जनाको भिडिओ एक्सरे र एक सय जनाको ईसिजी गरिएको पौडेलले बताए।

शिविरमा आएका बिरामीहरुलाई अस्पताल तथा विभिन्न औषधि उत्पादक कम्पनीबाट संकलन भएका औषधिहरु वितरण गरिएको थियो। स्वास्थ्य शिविरमा प्रा.डा.विजयप्रसाद पौडेल, बालरोग विषेशज्ञ डा.कृष्णसागर शर्मा, स्त्रिरोग विशेषज्ञ डा.सुनिता आचार्य र डा.जीवन परियार, सर्जन डा.रसेस श्रेष्ठ, ह्याम्स अस्पतालका डा.चतुरानन्द यादव, रेडियोलजिष्ट डा.ज्ञानबहादुर श्रेष्ठ र डा.अमित चौधरीलगायतका १४ जना चिकित्सकहरुले सेवा दिएका थिए। चितवन हस्पिटलकातर्फबाट एक दर्जनबढी प्राविधिकहरु बिरामीको सेवामा खटेको अस्पतालका कार्यकारी निर्देशक भोलानाथ पौडेलले जानकारी दिए।

hc 1

प्रा।डा।विजयप्रसाद पौडेलले अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक वर्ष विकट क्षेत्रमा पुगेर विपन्न नागरिकलाई स्वास्थ्य सेवा दिँदै आएको बताए। देवघाट गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष मणिराज गुरुङले अस्पतालसम्म सजिलो पहुँच नहुँदा उपचारको अभावमा नागरिकले ज्यान गुमाउनु पर्ने अवस्था अझै रहेको बताए। कोटामा ठूलो संख्यामा विशेषज्ञसहितको स्वास्थ्य शिविर पहिलो पटक आयोजना भएको उनले बताए। ‘बिरामी हुँदा समान्य औषधि पनि नपाएर अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता गाउँमा अझै पनि छ। सरकारले सन्तोषजनकरुपमा स्वास्थ्य सेवा दिन सकेको छैन,’ गुरुङले भने, ‘यो अवस्थामा निजी अस्पतालका विशेषज्ञ डाक्टरहरु आएर सेवा दिँदै धेरै नागरिकले सेवा पाउनुभयो।’

 
 

कमेन्टहरु