रारा क्षेत्रमा हिमपात


मुगु । मुगु लगायतका हिमाली जिल्लामा बिहीबार राती देखि हिमपात र वर्षा भइरहेको छ । लामो समयपछि परेको हिमपातले यहाँका कृषक र स्थानीय बासिन्दाहरूलाई राहत पुगेको छ ।
हिमपातका कारण मुगुको प्रमुख आम्दानीको स्रोत मानिने यार्चागुम्बा, उत्पादनमा सकारात्मक प्रभाव पर्ने अनुमान गरिएको छ साथै, अन्य बहुमूल्य जडीबुटीको उत्पादनमा समेत वृद्धि हुने कृषकहरुले विश्वास लिएका छन् ।
हिमपातले माटोलाई आवश्यक चिस्यान प्रदान गर्दै उत्पादन बढाउने भएकाले यसले खेतीमा सकारात्मक प्रभाव पुर्याउने विश्वास गरिएको हो ।
स्थानीय कृषक लाप्से विश्वकर्माकाअनुसार वर्षा पछि माटोमा नाइट्रोजन मिसिनाले गहुँ, जौ, उवालगायतका बालीनालीको उत्पादन वृद्धि गर्न मद्दत पुग्नेछ । साथै, स्याउ, ओखर जस्ता फलफूल खेतीका लागि पनि याे वर्षा र हिमपात अनुकूल देखिएको छ ।
हिमपातका कारण नदी, इनार, पोखरी र सिँचाइका स्रोतहरूमा पानीको मात्रा बढ्ने भएकाले कृषि क्षेत्रमा ठूलो लाभ पुग्नेछ । फाल्गुण महिनाको दोर्सो साता पूरा भैसक्दा पनि हिमाली जिल्लाहरुमा वर्षा र हिमपात नहुँदा हिउँदे बाली उत्पादनमा कमी हुने र यो वर्ष भोकमरीमा परिने भयो भनेर कृषकहरु चिन्तित भएका थिए ।
‘ढिलै भएपनी वर्षा भएको छ सुक्न लागेका गहु, जौ, उवाका बोट सप्रने र पाखेधान, कोदो लगाउन सहज हुने विश्वास बढेको छ । २०७९ बाट मुगु जिल्लामा हिउँ परेको छैन, यो वर्ष पनि न पानी न हिउँ केही नपर्दा चिन्तित थियौँ, ढिलै भएपनी हिजो रातिबाट पानी परिरहेको छ अब जडिवुटि राम्रो पाइने भयो, फलफुल राम्रो हुने भयो, हिउदे बाली सप्रने भयो भन्ने आशा पलाएको छ,’ स्थानिय कृषक काला कामीले भन्नुभयाे ।
विहिवार साझबाट विहान ८:४५ सम्म ६ दशमलव ९ मिलिलिटर पानी मुगु जिल्ला सदरमुकाम आसपास परेको र पानी पर्नेक्रम निरन्तर चलिरहेको गमगढी हावापानी मापन केन्द्रले जनाएको छ केन्द्रका अनुसार जिल्लाका उच्च क्षेत्रमा हिमपात भैरहेको छ भने बेशीमा पानी परिरहेकाे छ ।























