मौसम

वर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

नवलपुर टुडे
२०८१ फाल्गुन १६ | मध्यान्ह ०२:११ बजे

बागलुङ । आज (शुक्रबार) बिहानदेखि परेको वर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । सडकमा जमेको बाक्लो हिउँका कारण लोकमार्गअन्तर्गत बागलुङको निसीखोला–पूर्वी रुकुम खण्ड अवरुद्ध भएको हो ।

निसीखोला गाउँपालिका–६ पातीहाल्नेमा डेढ फिट हिउँ परेको छ । सडक अवरुद्ध हुँदा पूर्वी रुकुम, पश्चिम रुकुम, जाजरकोट, डोल्पालगायत स्थानबाट सञ्चालन हुने सवारीसाधन ठप्प भएको निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले जानकारी दिए। अहिले पनि निरन्तर हिमपात भइरहेको उनले बताए।

snow humala1‘बिहानैदेखि वर्षा भएको थियो, अहिले हिमपात भइरहेकाले तत्कालै सडक खुलाउन सकिने अवस्था छैन । हिमपात रोकिएर घाम लाग्यो भने मेसिन प्रयोग गरेर सडक खुलाउनु पर्छ । बिहान काठमाडौँदेखि आएका रात्रि बस सञ्चालन भए पनि अहिले लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन हुनसकेका छैनन्’, अध्यक्ष घर्तीमगरले भने। नेपालको एक मात्र ढोरपाटन सिकार आरक्षको माथिल्लो भेगमा पनि बाक्लो हिमपात भएको छ।

बिहानैदेखि परेको हिमपातका कारण जनजीवन प्रभावित भएको ढोरपाटन नगरपालिका–९ का स्थानीय चकबहादुर अदैले जानकारी दिए । हुम्लामा पनि भारी हिमपात भएको छ। शुक्रबार बिहानैदेखि बाक्लो हिमपात भइरहेको सर्केगाड गाउँपालिकाकी उपाध्यक्ष देवकी तिमल्सिनाले जानकारी दिइन् । जिल्लाको उच्च क्षेत्र नाम्खा गाउँपालिका र सदरमुकाममा सिमकोटमा पनि हिमपात भएको छ।

सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै उपाध्यक्ष तिमल्सिनाले भारी हिमपातले बाहिर निस्कन समेत समस्या भएको बताएकी छन् । पानी लिन जान नसकेको, गाईबस्तुलाई घाँसपात दिन पनि नसकिएको बताउँदै उनले चिसो अत्यधिक बढेको बताइन् । उनले भनिन्, नेपालको स्वर्ग कहाँ छ भने त्यो कर्णालीमा छ । यहाँका सबै घरमा हिउँ फुलिरहेको छ । सबैका घरका छानाहरु हिउँले पुरिएको छ।

हिमपातले नाम्खा गाउँपालिकाको लिमी, चाला, याल्बाङ, यारी, मुचुलगायतका क्षेत्रका बाक्लो हिउँ जमेको छ। जिल्लाको दक्षिणी भेगहरु सर्केगाड, चंखेली, अदानचुली, ताजाकोट गाउँपालिकामा वर्षा भएको छ। रातभर वर्षा भएको र बिहानदेखि हिमपात भएको उनले बताइन् । हिमपातपछि किसान भने हर्षित भएका छन्। लामो समय पानी नपरेर खडेरी सुरु हुने अवस्थामा हिमपात भएपछि किसानमा खुशीयाली छाएको उपाध्यक्ष तिमल्सिनाले बताइन् ।

कमेन्टहरु