ओलीले भ्रष्ट, माफिया र बिचौलियालाई सहयोग पुग्ने काम मात्रै गर्दैछन् : प्रचण्ड

सुनसरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्ट, माफिया र बिचौलियालाई सहयोग पुग्ने काम मात्रै गरिरहेको आरोप लगाएका छन् । ‘जनतासँग माओवादी, तराई-मधेश जागरण अभियान’अन्तर्गत बिहीबार सुनसरीको देवानगन्ज गाउँपालिकामा आयोजित जनभेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले धेरै सुधारात्मक काम रोकेर ओली सरकारले भ्रष्ट, माफिया र बिचौलियालाई सहयोग पुग्ने मात्रै काम गरिरहेको आरोप लगाएका हुन् ।
उनले आफू नेतृत्वको सरकारले नागरिकताविहीन नागरिकलाई नागरिकता दिन कानुन बनाए पनि अझै यसको प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताए । अध्यक्ष प्रचण्डले मिटरब्याजपीडितको समस्या समधानका लागि आफूहरूले कानुन बनाए पनि अहिलेको सरकार यो समस्या समाधान गर्न ध्यान नदिएको बताए ।
अध्यक्ष प्रचण्डले आफू नेतृत्वको सरकारले गरेका सुधारका कामको कार्यान्वयन ओली सरकारले रोकिरहेको पनि आरोप लगाए । अध्यक्ष प्रचण्डले अहिलेको सरकारले जनताले पाएको सुधारसँगै संविधानले दिएको अधिकार पनि खोस्न खोजिरहेको तर त्यो सम्भव नभएको बताए । संविधान संशोधनमार्फत जनताको अधिकार खोस्न खोजे पनि यो उनीहरूका लागि सपना मात्रै भएको र जनताको तागतले यसलाई रोक्ने प्रचण्डको भनाइ छ । अध्यक्ष प्रचण्डले लाखौँ जनता एक ठाउँमा उभिए भ्रष्टराजको अन्त्य गरी समाजवादी क्रान्ति अघि बढाउन सकिने बताए ।























