मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

२५ वर्ष अगाडि हराएकी बाजुरा एक महिला भारतको पिथौरागढमा फेला

उमेश रोकाया
२०८१ फाल्गुन १० | मध्यान्ह १०:११ बजे

काठमाडौँ : २५ वर्षअगाडि हराएकी एक नेपाली महिला भारतको उत्तराखण्ड पिथौरागढमा फेला परेकी छन् । उनी पिथौरागढस्थित ‘वानस्टप सेन्टर’ को आश्रयस्थलमा रहेको सूचना आएपछि सोधीखोजी थालेर परिवारलाई सम्पर्कमा ल्याइएको किन इन्डियाका प्रमुख नवीन जोशीले बताए ।

उनी सन् २००७ देखि नै उनी ‘वानस्टप सेन्टर’को आश्रय स्थलमा थिइन् । तस्बिरसहितको जानकारी सामाजिक सञ्जालमा पोस्ट गरेपछि छोरी वर्षा शाहीले फोन गरेर उनी आफ्नो आमा भएको बताएकी जोशीको भनाइ छ ।

बाजुराको बुढीगंगा नगरपालिका-३ स्थायी ठेगाना भएकी उनको नाम शान्ति रहेको खुलेको छ । उनका श्रीमान् चन्द्रबहादुर र छोराहरू पनि सम्पर्कमा आइसकेको जोशीले बताए । परिवारजनका अनुसार २५ वर्ष अगाडि शान्ति हराएकी थिइन् ।

किन इन्डियाको फेसबुकमा शान्तिका छोरा भुपेन्द्र शाह ठकुरीले लेखेका छन्– ‘सपनाजस्तो लागेको छ । आज हाम्रो परिवारमा खुसीको बहार ल्याइदिनुभएकामा निकै आभारी छौं ।’ अहिले ७० वर्ष हाराहारी पुगेकी शान्तिलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरेर परिवारजनलाई जिम्मा लगाइने किन इन्डिया प्रमुख जोशीले बताए ।

कमेन्टहरु