बागमती प्रदेश

बागमतीका मन्त्रिपरिषद् बैठकका निर्णय

नवलपुर टुडे
२०८१ फाल्गुन ९ | मध्यान्ह ०२:११ बजे

आज बसेको बैठकले उद्योग वाणिज्य तथा प्रशासन मन्त्रालयको प्रविधि हस्तान्तरण कार्यविधि र तालिम सञ्चालनसम्बन्धी कार्यविधि २०८१ समेत स्वीकृत गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए।

उनका अनुसार बैठकले दुई कर्मचारीको बढुवा तथा पदस्थापन गर्ने निर्णय गरेको छ। सङ्घीय सरकारबाट सरुवा भई आएका सहसचिव उदय राना मगरलाई प्रदेशको युवा तथा खेलकुद मन्त्रालयको सचिव पदमा कामकाजका लागि खटाउने र प्रदेशका सिनियर डिभिजनल इञ्जिनियर नवीन सिंहलाई ११औँ तह (सचिव)मा बढुवा गर्ने निर्णय गरेको हो। पूर्वाधार विकास कार्यालय ललितपुरमा कार्यरत उपसचिवस्तरका सिंहलाई कार्यसम्पादन तथा योग्यताको आधारमा ११औँ तहमा बढुवा गर्ने निर्णय गरेको हो।

यस्तै, यही फागुन २० गते हुने लदी पर्वको अवसरमा माझी समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरिएको छ। साथै, वन डढेलो सम्बन्धमा अष्ट्रेलियामा अध्ययन तथा अनुगमनका लागि प्रदेशको वन तथा वातावरण मन्त्रालयका सचिव केशव बरालको भ्रमण आदेश स्वीकृत गर्ने निर्णय गरिएको प्रवक्ता लामिछानेले जानकारी दिए। 

कमेन्टहरु