कोशी प्रदेश

पाथीभरा क्षेत्रमा फेरि झड्प

नवलपुर टुडे
२०८१ फाल्गुन ८ | मध्यान्ह ०६:११ बजे

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माण गर्ने र नगर्ने विषयमा आज (बिहीबार) फेरि झड्प हुँदा पाथीभरा क्षेत्र तनावपूर्ण बनेको छ । ताप्लेजुङमा ‘नो केबलकार समूह’ र प्रहरीबीच आज दिउँसो झडप भएको हो ।

झडपमा सुरक्षाकर्मीसहित १२ जना घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले ७ सेल अश्रुग्यास प्रहार गरेको छ । पाथीभरामा केबलकार निर्माणको विरोध गर्दै आएको समूहले बिहीबार ठूलो फेदीबाट पदयात्रा निकाल्दै केबलकार निर्माणस्थलतर्फ जाँदै गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीले रोक्न खोजेपछि झडप भएको हो ।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले झडपमा नेपाल प्रहरी र सशस्त्रका गरी ११ जना र प्रदर्शनकारीतर्फ १ जना घाइते भएको जनाए । पाथीभरा क्षेत्रमा केबलकार बनाउँदा ऐतिहासिक पहिचान मेटिने भन्दै मुक्कुम्लुङ संयुक्त संघर्ष समिति मुक्कुम्लुङ केबलकार खारेजी संघर्ष समिति बनाएरै चरणबद्ध आन्दोलन गर्दै आएको छ । केही छिन तनावग्रस्त बनेको सो क्षेत्र अहिले सामान्यतर्फ फर्किदैछ । पाथीभरा क्षेत्रमा निर्माण हुने भनिएको केवलकारको विषयलाई लिएर यसअघि पनि झडप भएको थियो ।

कमेन्टहरु