अपराध

गौतमबुद्ध विमानस्थलबाट सुन बरामद

नवलपुर टुडे
२०८१ फाल्गुन ७ | मध्यान्ह ०५:११ बजे

बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको शौचालयमा सुन भेटिएको छ । विमानस्थलको अध्यागमनको शौचालयमा १२५ ग्रामका २ वटा सुनका सिक्री फेला परेका हुन् । महिला शौचालयमा छाडेर गएको अवस्थामा उक्त सुन फेला परेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका अधिकृत पवित्रा ज्ञवालीले जानकारी दिइन् ।

यस विषयमा थप अनुसन्धान भइरहेको बताउँदै ज्ञवालीले राष्ट्र बैंकमा लगेर जफत हुने र उक्त रकम राजस्वको रूपमा जम्मा गरिने बताइन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका एसएसपी जर्नादन जिसीका अनुसार रियाज अहमद नाउको नाममा जारी भएको गोल्डेन स्टोन न्यू ज्वेलरीको दुई वटा २५ ग्राम र एक सय ग्रामको बिलसहित सुन जस्तो देखिने पहेलो रंगको धातुले बनेको दुई थान सिक्री बरामद भएको हो ।

बरामद सिक्री गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पठाइएको उनले बताए । यसअघि भैरहव विमानस्थलमा कार्यरत प्रहरी नै सुनसहित पक्राउ परेका थिए । भर्खरैदेखि अन्तर्राष्ट्रिय उडान सुरु हुन थालेका रुपन्देहीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सेटिङमा सुन तस्करी हुन थालेको छ । क्यानका कर्मचारी, सुरक्षाकर्मी र ल्याउने मान्छेको सेटिङमा तस्करी सुरु भएको आशंका हुन थालेको छ ।

यसरी ल्याइने सुन यहाँको भन्सार कार्यालयबाट नभई अन्यत्रबाट बाहिर निकाल्न थालिएको प्रमाण भेटिएका छन्। सर्वसाधारणका लागि पटक–पटक चेकजाँच हुने विमानस्थलमा सेटिङमा आउनेको चेकचाँज नभएकाले यसरी दुवई कतारबाट अवैध तरिकाले सुन भित्रिरहेको व्यवसायीहरुको भनाइ छ । ‘यसका विचौलियाहरुले यो नयाँ क्षेत्रलाई टार्गेट बनाएर काम गरेका हुनसक्छन्, नभए सबै यात्रु विमानबाट झरेर सिधै बाहिर आउन संभव हुँदैन, दुबई कतारबाट सुन ल्याउन सहज हुने भएकाले यसो गरिएको हुनसक्छ’ एक व्यवसायीले भने ।

कमेन्टहरु