अपराध

सचिव कुट्ने बन्दीपुरका वडाध्यक्ष गुरुङलाई १० दिन हिरासत राख्न अनुमति

नवलपुर टुडे
२०८१ फाल्गुन ७ | बिहान ०९:११ बजे

बन्दीपुर । बन्दीपुर–६ का वडाध्यक्ष बलबहादुर गुरुङलाई १० दिन प्रहरी हिरासतमा राख्ने अनुमति दिइएको छ। जिल्ला प्रशासन कार्यालय तनहुँले कुटपिट तथा अभद्र व्यवहार मुद्दामा १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

वडाध्यक्ष गुरुङले सोमबार बिहान वडासचिव नवीन भुसाललाई वडाध्यक्ष कप भलिबलको बिल भुक्तानीको विषयमा विवाद भएपछि कुटपिट गरेका थिए। वडाध्यक्षको कुटपिटबाट घाइते भएका भुसाललाई बन्दीपुर अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पुर्‍याइएको थियो। अस्पतालले सोमबार राति ९ बजे डिस्चार्ज गरेपछि घरैमा आराम गरिरहेका छन्।

गाउँपालिकाले सोमबार नै कानुन बमोजिम कारबाही गर्न प्रहरी प्रशासनमा पत्राचार गरेको थियो। कर्मचारी संगठनले दबाब दिएपछि वडाध्यक्ष बल बहादुरलाई सोमबार दिउँसो इलाका प्रहरी कार्यालय बन्दीपुरले पक्राउ गरेर हिरासतमा राखेको छ।

भुसालले चितवनबाटै कुटपिट तथा अभद्र व्यवहारमा मंगलबार किटानी जाहेरी दिएका छन्। कुटपिट तथा अभद्र व्यवहारको मुद्दामा जिल्ला प्रशासन कार्यालय तनहुँबाट १० दिन अनुमति पाएको जिल्ला प्रहरी कार्यालयका तनहुँका सूचना अधिकारी राजु अधिकारीले बताए।

कमेन्टहरु