देश

राष्ट्रिय योजना आयोगले आउँदो आवको बजेट १९ खर्ब सीमा निर्धारण

नवलपुर टुडे
२०८१ फाल्गुन ६ | मध्यान्ह ०६:११ बजे

काठमाडौँ । राष्ट्रिय योजना आयोगले आउँदो आर्थिक वर्षको बजेटका लागि १९ खर्ब रुपैयाँको सीमा निर्धारण गरेको छ। आयोगले अर्थ मन्त्रालयलाई राष्ट्रिय स्रोतको अनुमान तथा खर्च सीमा निर्धारण समितिको प्रतिवेदन बुझाउँदै १९ खर्ब रुपैयाँको सीमा निर्धारण गरेको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीको नेतृत्वमा यो समिति रहने गर्छ ।

सरकारले चालू आर्थिक वर्षमा १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट ल्याएकोमा मध्यावधि समीक्षामार्फत १६ खर्ब ९२ अर्ब रुपैयाँमा झारेको छ । त्यसमा झन्डै १२ प्रतिशत वृद्धि हुने गरी सीमा निर्धारण गरेको योजना आयोगले जनाएको छ ।
आयोगले संवैधानिक निकाय, क्षेत्रगत मन्त्रालय, प्रदेश सरकार, स्थानीय तथा तथा सङ्घीय सञ्चित कोषबाट व्ययभार हुने निकायहरूका लागि खर्चको सीमा तथा स्रोतसँगै मध्यकालीन खर्च संरचनाको खाका तयार पारेको हो ।

हालै सरकारले अध्यादेशमार्फत आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन संशोधनमार्फत फागुनको पहिलो साताभित्र स्रोतको अनुमान तथा खर्चको सीमा निर्धारण गरी त्यसको प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउनुपर्ने व्यवस्था गरेको छ ।

कमेन्टहरु