एमालेबाट निर्वाचित वडाध्यक्षको कुटपिटबाट वडा सचिव घाइते


तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष बलबहादुर गुरुङले वडा सचिवमाथि कुटपिट गरेका छन्। वडाध्यक्ष गुरुङले वडासचिव नविन भुषाललाई कुटपिट गरेका हुन्।
भुक्तानीको विषयमा विवाद हुँदा वडाध्यक्षले वडा सचिवलाई कुटपिट गरेको बन्दीपुरका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले पुष्टि गरे। उनका अनुसार भलिबल प्रतियोगिताको वडाध्यक्षले भुक्तानी गर्न दबाब दिएका थिए। सचिवले कागजत अध्ययन गरेर प्रक्रिया बढाउने बताएपछि कुटपिटमा परेको आचार्यको भनाइ थियो।
‘उहाँ नयाँ हो। भुक्तानीका लागि पुष्टि हुने चीजहरु नदेख्दा उहाँलाई शंका लाउनु स्वभाविक नै थियो। भुक्तानीका लागि दबाब दिएर कार्यालयको पोशाकमै हातपात भयो’, आचार्यले भने।
यो घटना सोमबार बिहान १० बजेलगत्तै भएको हो। वडाध्यक्षको कुटपिटबाट घाइते भएको वडासचिवलाई थप उपचारका लागि भरतपुर रिफर गरिएको छ। उनको गाला र घाँटीमा चोट लागेको छ। बन्दीपुर अस्पतालमा प्रारम्भिक उपचारपछि चिकित्सकले रिफर गरेका हुन्।
घटनाको विषयमा वडाध्यक्ष गुरुङसँग बुझ्ने कोशिस गर्दा आफू प्रहरीकहाँ रहेको र पछि कुरा गर्ने बताए। प्रमुख प्रशासकीय अधिकृत आचार्यले कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाएको बताउँछन्। वडा सचिवलाई कुट्ने वडाध्यक्ष गुरुङ नेकपा एमालेको तर्फबाट निर्वाचित भएका हुन्।























