देश

प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभामा विभिन्न प्रस्ताव पेश गर्ने

नवलपुर टुडे
२०८१ फाल्गुन ५ | बिहान १०:११ बजे

काठमाडौँ । आज संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्ने कार्यक्रम छ। उक्त बैठकमा प्रधानमन्त्री के. पी. शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को छैटौं वार्षिक प्रतिवेदन (आ.व. २०७९/८०) र सातौं वार्षिक प्रतिवेदन (आ.व. २०८०/८१) पेश गर्नेछन्। 

त्यस्तै, सभामुख देवराज घिमिरेले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्। गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी विधेयक, २०८१ माथि पनि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

प्रधानमन्त्री ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। त्यसैगरी, भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव पनि राख्नेछन्। 

अन्तिममा, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले अन्तर्राष्ट्रिय श्रम संगठनको अन्तर्राष्ट्रिय श्रम सम्मेलनले स्वीकृत गरेका नयाँ अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूको संयन्त्रहरु (महासन्धि, प्रोटोकल र सिफारिस) सम्बन्धी प्रतिवेदन पेश गर्नेछन्।

1739762935 r6ntlpui86tu1rk6 page 0001

कमेन्टहरु