मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

बाजुरामा एक गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार

उमेश रोकाया
२०८१ फाल्गुन १ | बिहान ११:११ बजे

बाजुरा, फागुन ०१ । जिल्ला अस्पताल बाजुरामा सुत्केरी हुन आएकी एक गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टर मार्फत बुधबार दिउँसाे उद्धार गरिएको छ । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका-२ की २० वर्षीया रंगिता बुढाको हेलिकप्टर मार्फत उद्धार गरेको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायले जानकारी दिएका छन्।

उनले दिएको जानकारी अनुसार जिल्ला अस्पताल बाजुराबाट गर्भवती महिलाको पेटमा बच्चाको घाँटीमा शाल बेरिएको र आमा बेहोस हुने लक्षण देखा पर्ने गरेको अस्पतारको रिफरमा देखिएपछि सेनाको हेलिकप्टरमा उद्धार गरिएको बताए ।
कोल्टी आधारभूत अस्पताल कोल्टीबाट जिल्ला अस्पताल बाजुरामा सुत्केरी गराउन रिफर गरिएको भएपनि जिल्लामा सम्भव नभएपछि कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेतमा सेनाको हेलिकप्टरमा लगिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय बाजुराको पहलमा महिला तथा बालबालिका मन्त्रालयले राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत गर्भवती महिलाको उद्धार गरिएको हो । दुर्गमका गर्भवती तथा सुत्केरी महिलाहरुको उद्धारका लागि संचालन गरिएको राष्ट्रपति महिला उत्थान कार्यक्रममा चार जना बढी सुत्केरी तथा गर्भवती महिलाको आर्थिक वर्ष ०८१/०८२ मा  उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराको तथ्यांकमा उल्लेख छ ।

गएको कार्तिकमा हिमाली गाउँपालिका-३ विच्छ्याकी २२ वर्षीया प्रेमकला रोकायाको पनि जिल्ला अस्पताल बाजुराबाट सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको थियो । राष्ट्रपति महिला उत्थान कार्यक्रम दुर्गम भेगका महिलाहरु र अन्य गम्भीर प्रकृतिका विरामीको उद्धारका लागि यो कार्यक्रम प्रभावकारी बन्दै गएको छ । 

कमेन्टहरु