कृषि, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

फागुन दुई गतेदेखि भेडा र बाख्रालाई पि.पि.आर. खाेप लगाइने

उमेश रोकाया
२०८१ माघ ३० | मध्यान्ह १०:१० बजे

बाजुरा, माघ ३० । बाजुरा जिल्लाको हिमाली गाउपालिकामा फागुन २ गतेदेखि भेडाबाख्रालाई पिपिआर रोग विरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मार्तडी बाजुराको आर्थिक सहयोगमा र हिमाली गाउँपालिका पशु सेवा प्राविधिक सहयोगमा फागुन २ गतेदेखि ८ गतेसम्म बाख्राहरुलाई पि.पि.आर. खोप लगाइने भएको छ । आ-आफ्ना भेडाबाख्रालाई ल्याएको खोप लगाउन सम्पुर्ण पशुपालक कृषकहरुलाई आग्रह समेत गरेको छ ।

भेडाबाख्रामा महामारीका रुपमा फैलिन लागेको पिपिआर रोगलाई नियन्त्रण गर्नका लागि पि.पि.आर. रोग विरुद्धको खोप अभियान संचालन गर्न लागेको हिमाली गाउपालिका पशु सेवा शाखा प्रमुख गौरी पाण्डेले बताएका छन । गाउपालिका भित्र पि.पि.आर. रोग विरुद्धको खोप अभियान संचालन गर्नका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट आवश्यक खोपको डोजहरु प्राप्त भएकोले सेवा क्षेत्रका सवै वडाका गाउँबस्ती टोलहरुमा खोप अभियान संचालन गरिने पाण्डेले बताएका छन ।

पि.पि.आर. खोप अभियान पहिलो चरणमा हिमाली गाउँपालिका वडा – १ बिच्छ्या फागुन २ गते वडा – २ कोट फागुन २ र ३ गते वडा – ५ रुगीन फागुन ५ र ६ गते ६ र ४ को वडा नम्बर ४ फैतीमा फागुन ७ र ८ गते भेडाबाख्रालाई पि.पि.आर. रोग विरुद्धको खोप लगाईने भएको छ । पि.पि.आर. रोग देखा परेका भेडाबाख्रामा ज्वरो आउने, खोक्ने, रगतमासी छेर्ने, रगत छेर्ने लगायतका लक्षण देखिन्छ । पालिकामा भेडा संख्या ८ हजार ६ सय ८१ वटा र बाख्रा संख्या १९ हजार ८ सय ५७ वटा पशुपालकले पाल्दै आएको हिमाली गाउँपालिका पशु सेवा कार्यालयले जनाएको छ ।

कमेन्टहरु