गोरखामा तीन हजार पाँच सयजनाको निःशुल्क मुटु जाँच

गोरखा, माघ २७ । यहाँ सञ्चालित दुई दिनको निःशुल्क मुटु स्वास्थ्य शिविरमा तीन हजार पाँच सय १० जनाले जाँच गराएका छन् । सदरमुकामस्थित गोरखा अस्पतालमा सम्पन्न शिविरमा सर्वसाधारणले मुटु जाँच गराएको आयोजक रोटरी क्लब अफ गोरखाका अध्यक्ष विनोदकुमार बस्यान्तले जानकारी दिनुभयो ।
रोटरी क्लब अफ गोरखा तथा रोट्र्याक क्लब अफ गोरखाको संयुक्त आयोजना एवं सेभ द हर्ट, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, र गोरखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिविरमा जाँच गराएका बिरामीलाई आवश्यकताका आधारमा निः शुल्क औषधिसमेत उपलब्ध गराइएको छ ।
शिविरमा मुटु जाँच गराएकामध्ये शल्यक्रिया गर्नुपर्ने सबै बिरामीको निः शुल्क शल्यक्रियाको व्यवस्था गरिएको शिविर आयोजक समितिका संयोजक किशोरजङ्ग थापाले बताउनुभयो । शिविरमार्फत बिरामीलाई करिब रु ५० लाख बराबरको स्वास्थ्य उपचार सेवा प्रदान गरिएको आयोजकले जनाएको छ ।























