विपन्नका लागि वडाले ल्यायो ‘जनता औषधि कार्यक्रम’

आर्थिक वर्ष २०८०/८१ को पुसबाट सुरु भएको सो कार्यक्रमबाट लाभान्वित हुनेको सङ्ख्या २८ हजार नाघेको वडाध्यक्ष सीताराम भट्टराईले बताए । ‘सरकारको स्वास्थ्य बिमा कार्यक्रममा सबै परिवार जोडिएका हुँदैनन्’, वडाध्यक्ष भट्टराईले कार्यक्रमबारे जानकारी दिँदै भने, ‘हामीले सुरु गरेको जनता औषधि कार्यक्रमबाट बिमामा जोडिएका र नजोडिएका सबै नागरिकले सहुलियत प्राप्त गर्नुहुन्छ ।’
सेवा लिन अर्जुनधाराका अरु वडावासीमात्र होइन, छिमेकी पालिका बिर्तामोड, बुद्धशान्ति र मेचीनगरका बिरामीसमेत आउने गरेको मिश्रले बताए । उनले कतिपय औषधि शतप्रतिशत बोनसमा आउने र कतिपय एक बट्टा खरिद गर्दा तीन बट्टा सित्तैमा आउने हुँदा जनताले अत्यधिक सहुलियतमा गुणस्तरीय औषधि पाउने गरेको उनको भनाइ छ । नेपाल सरकारले सञ्चालन गरिरहेको स्वास्थ्य बिमा कार्यक्रमको तुलनामा यो कार्यक्रम बढी प्रभावकारी भएको उनले दाबी गरे ।
सरकारको स्वास्थ्य बिमा कार्यक्रममा निःशुल्क औषधि दिइने भनिए पनि धेरैजसो औषधि बीमाको सूचीभित्र पर्दैनन् । त्यसका कारण नागरिकले महँगो मूल्यमा औषधि खरिद गर्नुपर्ने बाध्यता छ । अर्जुनधारा वडा नं ३ मा बिमाको सूचीमा नपर्ने औषधिसमेत सहुलियतमा पाइने भएकाले वडावासी खुसी भएको वडाध्यक्ष भट्टराई बताउँछन् ।
प्रमुख मिश्रले वडा नं ३ मा तीन हजार ६०० दीर्घरोगका बिरामी रहेको बताए । तीमध्ये २० प्रतिशतमात्र स्वास्थ्य बिमामा आबद्ध छन् । खुदुनावारी स्वास्थ्य चौकीमा उपचार सेवालाई व्यवस्थित र भरपर्दो बनाउन विभिन्न दातामार्फत रु ८५ लाखभन्दा बढीको उपकरण निःशुल्क जडान गरिएको उनले बताए ।
गत आर्थिक वर्षमा १७ हजार ५०० र चालु आवको छ महिनामा ११ हजार बढीले जनता औषधि कार्यक्रमबाट सेवा लिएको स्वास्थ्य चौकीका प्रमुख मिश्रले जानकारी दिए । चालु आवमा २५ हजार बिरामीलाई सेवा दिने स्वास्थ्य चौकीको लक्ष्य छ ।






















