मनाङमा १० दिनदेखि डढेलो, अझै नियन्त्रणबाहिर

मनाङ । मनाङको चामे गाउँपालिका–१, तिमाङ जंगलमा लागेको डढेलो १० दिनसम्म पनि नियन्त्रण गर्न सकिएको छैन । यही माघ १८ गते बेलुकादेखि लागेको डढेलो जटिल भूगोलका कारण नियन्त्रणमा लिन नसकिएको मनाङका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले बताए ।
उनका अनुसार, डढेलो नियन्त्रणका निम्ति जिल्लाका सबै सुरक्षा संयन्त्र परिचालन गरिएको छ । उनले भने, “डढेलो नियन्त्रणका लागि जिल्लाका सबै सुरक्षा निकाय परिचालन गरिएको छ । स्थानीयवासी पनि सक्रिय भएर जंगलमा खटिनुभएको छ । तर, हालसम्म नियन्त्रणमा लिन सकिएको छैन ।”
“आगलागी बस्तीभन्दा टाढाको जटिल भूगोलमा लागेको छ, यहाँ हावा चल्ने भएकाले पनि डढेलोको जोखिम बढ्न सक्ने अवस्था छ,” प्रजिअ आचार्यले भने, “साथै, राष्ट्रको गहनाका रूपमा रहेका राष्ट्रिय पन्छी डाँफेको वासस्थान र कोपिला लागेको लालीगुँरासको बोट नष्ट भएका छन् ।”
जान सक्ने स्थानसम्म पुगेर सुरक्षाकर्मी र स्थानीयले डढेलो निभाउने प्रयास गरिरहेका उनले जानकारी दिए । कठिन तथा जोखिम भीरको डढेलो नियन्त्रणमा समस्या भएको उनले बताए । बस्तीमा भने आगलागीको जोखिम नरहेको उनले उल्लेख गरे ।
यसअघि, ०७७ साल मंसिर २ गतेदेखि लागेको डढेलो दुई महिनापछि मात्र नियन्त्रणमा लिन सकिएको थियो । उक्त डढेलोका कारण मनाङको एक हजार २०० हेक्टर क्षेत्रफल वनजंगल नष्ट भएको थियो ।
तिमाङ जंगलमा लागेको डढेलो नियन्त्रणमा तीनै तहका सरकारले यथाशीघ्र प्रभावकारी पहल गर्नुपर्नेमा स्थानीयको जोड छ ।























