खेलकुद

अन्तरपालिका सितोरियो कराँतेमा भरतपुर समूह प्रथम

नवलपुर टुडे
२०८१ माघ २५ | बिहान ०७:१० बजे
चितवन । चितवनमा सम्पन्न प्रथम अन्तरपालिका आमन्त्रित सितोरियो कराँते प्रतियोगितामा भरतपुर महानगरपालिका प्रथम भएको छ । भरतपुर कभर्ड हलमा आज (बिहीबार) सम्पन्न प्रतियोगितामा भरतपुर समूह प्रथम भएको हो । 

भरतपुरले ८ स्वर्ण र एक रजत गरी ९ पदक जितेको छ । यस्तै हेटौंडा उपमहानगरपालिका दोस्रो भएको छ । उसले २ स्वर्ण, २ रजत र २ काँस्य गरी कुल ६ पदक जितेको प्रतियोगिता संयोजक छविरमण तिमल्सिनाले जानकारी दिए । 

२ स्वर्ण र ५ रजतसहित ७ पदक जितेको गोलबजार तेस्रो स्थान हासिल गर्न सफल भएको छ । समूह प्रथम भएको भरतपुरले ३० हजार रुपैयाँ प्राप्त गरेको छ । यस्तै दोस्रो हेटौंडाले २० तथा तेस्रो गोलबजारले १० हजार प्राप्त गरेको छ । 

काठमाडौंको निलकण्ठ नगरपालिका अनुशासित टिम भएको छ । उसले ५ हजार प्राप्त गरेको छ । पुरुषतर्फ गोरखा नगरपालिकाका रुपेश गुबाजु र महिलातर्फ गोलबजारकी रबिना परियार उत्कृष्ट खेलाडी बने । उनीहरुले जनही ५-५ हजार रुपैँया प्राप्त गरे । 

भरतपुरका विजय मगर पुरुषतर्फ तथा चन्द्रपुर नगरपालिकाकी तृषा तामाङ महिलातर्फ उदयमान खेलाडी बने । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्की, आयोजक नेपाल सितोरियो कराँते संघ भरतपुर महानगर समितिका अध्यक्ष पूर्णबहादुर गुरुङलगायतले पुरस्कार वितरण गरे । 

यस अघि बुधवारबाट सुरु भएको प्रतियोगिताको बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक लामाले उद्घाटन गरेका थिए । सोही क्रममा कराँते खेलको बिकासमा सहयोग पुराउने व्यक्तिहरुलाई सम्मान गरेको थियो । संघले रमेश श्रेष्ठ (सुधिर), अमर श्रेष्ठ, गुन्जबिर राना, जङ्गबहादुर थिङ्ग, खेलकुद बिकास समितिका कार्यालय प्रमुख रामजी ढकाल, समितिका पूर्व अध्यक्ष भिमबहादुर गुरुङ, सितोरियो कराँतेका पूर्व अध्यक्ष पूर्णबहादुर गुरुङ र कपिल पाण्डेलाई सम्मान गरेको हो । 

प्रतियोगितामा बागमती, गण्डकी र मधेश प्रदेशका १४ पालिकाबाट २ सय १० खेलाडी सहभागी थिए । उनीहरुले १५ विधामा १५ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए । 

 

 

कमेन्टहरु