समाचार

नवलपरासीको हुलाकी सडक निर्माण तत्काल सुरु नगरे राजधानी केन्द्रित आन्दोलन गर्ने चेतावनी

नवलपुर टुडे
२०८१ माघ २५ | बिहान ०६:१० बजे
फाइल तस्बिर

नवलपरासी । नवलपरासीको प्रतापपुर गाउँपालिकाले ६ वर्षदेखि अलपत्र अवस्थामा रहेको पश्चिम नवलपरासीको नारायण चोकदेखि बेलाटारी सम्मको हुलाकी सडक निर्माणको काम तत्काल सुरु गर्न आग्रह गरेको छ । फाल्गुन १५ गतेदेखि काम सुरु नगरे राजधानी केन्द्रित आन्दोलन गर्ने चेतावनी समेत गाउँपालिकाले दिएको छ ।

सडक निर्माणका लागि पालिका अध्यक्ष उमेशचन्द्र यादवको नेतृत्वमा पटक पटक आन्दोलन भएपनि राम्रोसँग काम नभएको गुनासो सर्वसाधारणको छ । आन्दोलनको दबाबले काम सुरु गरेझैँ गरेको ठेकेदार कम्पनीले पुनः काम ठप्प पारेपछि गाउँपालिकाले काम सुरु गर्न दबाब दिएको हो । सडक निर्माणको जिम्मा महालक्ष्मी बज्रगुरु कम्पनीले पाएको छ । पटक पटक स्थानीय तह र यहाँका अन्य निकायहरुले दबाब दिएपनि ठेकेदार कम्पनीले काम गरेको छैन । स्थानीयवासीले समेत सडक निर्माणका लागि पटक पटक आन्दोलन गर्दै आएका छन् ।

सडक निर्माणका लागि दबाब दिन अध्यक्ष यादवसहितको जनप्रतिनिधिको टोली गत भदौ २८ गते आमरण अनशनसमेत बसेको थियो । सो अनसन कार्यक्रममा नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापासमेत उपस्थित भएर ऐक्यवद्धता जनाएका थिए। लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री भुमिश्वर ढकालको उपस्थितिमा भएको सहमति कार्यान्वयन गर्नका लागि हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुलाई प्रतापपुर गाउँपालिकाले पत्राचार गरेको छ । सो पत्रमा काम तत्काल सुरु गर्न भनिएको छ ।

यदि फागुन १५ गतेदेखि जनताले देखिने गरी काम सुरु नभएमा राजधानी केन्द्रित आन्दोलन गर्ने चेतावनी प्रतापपुर गाउँपालिकाले दिएको छ । 

Messenger_creation_351F1711-D101-4FE9-81BC-AB9E34E48B47

 

कमेन्टहरु