झाडी फाडेर सुन्तला बगान

म्याग्दी । कोरोना महामारी फैलिएपछि विसं २०७६ चैतदेखि भएको लकडाउन (बन्दाबन्दी) का समयमा घुम्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले पुगेका बेनीका ब्यवसायी विकास श्रेष्ठलाई त्यही जग्गा किनेर घर र बगैचा बनाउने सोच आयो ।
सुन्तलाका लागि कुखुराको सुलीको मल उपयोगी हुने श्रेष्ठको अनुभव छ । कृषि फार्मका लागि सरकारी निकायबाट हालसम्म अनुदान नलिएको श्रेष्ठले बताए । काठमाडौँको बल्खुका ब्यापारीसँग सिधै सम्पर्क गरेर सुन्तला पठाउन थालेपछि उचित मूल्य पाएको र बजार सुनिश्चित भएको उनले बताए ।
घरजग्गा ब्यापार छाडेर कृषि ब्यवसायमा लागेका श्रेष्ठले बेनीमा दाना र चल्लाको ब्यापार गर्ने जलेश्वर पोल्ट्रि फर्म सञ्चालनको जिम्मा छोरा आदेशलाई जिम्मा लगाएका छन् । अवसर, सुविधा र रोजगारीका लागि विदेश र सहर पस्ने क्रम बढिरहेको अवस्थामा बजारबाट गाउँ गएर कृषि ब्यवसाय गरेका श्रेष्ठ कृषकहरुका लागि उदाहरणको पात्र बनेका छन् ।
दोसल्लेका अगुवा कृषक खगबिर पाईजाले बेनीबाट आएर श्रेष्ठले सुन्तलाखेती सुरु गरेपछि गाउँ छाडेर गएकाहरु फर्किएर सुन्तला खेती गर्न थालेका बताए । ‘उहाँ (विकास)ले बाँझिएको जग्गालाई सदुपयोग मात्र गर्नुभएको छैन,’ पाइजाले भने, ‘गाउँमा सुन्तला खेतीका लागि नयाँ प्रबिधि भित्र्याउनुभएको छ । उहाँको सिको गरेर बजार झरेकाहरु गाउँ फर्किएर सुन्तला खेती गरेका छन् ।’
सुन्तला खेतीका लागि जग्गा किन्न आउनेहरु बढेका र खेतबारीको भाउ पनि बढेको पाइजाले बताए । विकासको सुन्तला बगैचा अवलोकनका लागि बेनी र आसपासका ठाउँबाट कृषक तथा ब्यवसायीहरु आउने गरेका छन् । उक्त बगैचाबाट पृष्ठभूमिमा निलगिरि र धौलागिरि हिमाल देखिन्छ । बगैचाको बिच भागमा पाहुना र आफु बस्नका लागि घर बनाएका श्रेष्ठको फार्मलाई कृषि पर्यटनसँग जोड्ने योजना छ ।
समुन्द्रि सतहदेखि एक हजार पाँच सय मिटरको उचाईमा रहेको दोसल्लेका कृषकले सुन्तला खेतीलाई मुख्य आयस्रोत बनाएका छन् । यहाँ रहेका ४२ घरपरिवार सबैले सुन्तला खेती गरेका दोसल्ले सुन्तलाजात कृषक समूहका अध्यक्ष प्रेम पाइजाले बताए । गत वर्ष रु. ८० लाखको सुन्तला बिक्री भएको दोसल्लेबाट यसपाली रु। एक करोड ८० लाख मूल्य बराबरको सुन्तला फलेको उनले बताए ।























