गोरखामा वृद्धाभत्ता बुझेर फर्किने बेला भिरबाट लडेर मृत्यु
दिप्शन गुरुङ
२०८१ माघ २३ | मध्यान्ह ०३:१० बजे

गोरखा, माघ २३ । वृद्धाभत्ता बुझेर फर्कने बेला भिरबाट लडेर एक वृद्धको मुत्यु भएको छ । जिल्लाको भीमसेन थापा गाउँपालिका–४ काशीखोलाका ७५ वर्षीय चुडामणी काप्रीको भिरबाट लडेर मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक नविन गिरीले आइतबार घरबाट वृद्धाभत्ता बुझ्न निस्किएका काप्री घर नफिर्कएपछि खोजी गर्दा भिरबाट लडेर मृत्यु भएको अवस्था आज बिहान शव फेला परेको जानकारी दिनुभयो । उहाँका अनुसार ध्याम्पेसालस्थित बैंकमा वृद्धभत्ता बुझेर फर्कने क्रममा उहाँको वडा नम्बर–२ स्थित सेतो पहरो भन्ने ठाउँमा भिरबाट खसेर मृत्यु भएको हो ।
घटनास्थलमा पुगेर प्रहरीको टोलीले शवको मुचुल्का बनाएर अत्येष्टीका लागि आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।


















