राजनीति

कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै समयमा हुन्छ: महामन्त्री थापा

नवलपुर टुडे
२०८१ माघ २३ | बिहान ०६:१० बजे

पर्वत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन समयमै हुने बताएका छन् । पर्वतको पैँयू गाउँपालिकास्थित हुवासमा मंगलबार आयोजित नेपाली कांग्रेस पर्वत क्षेत्र ‘ख’ को प्रथम क्षेत्रीय सम्मेलनमा उहाँले महाधिवेशन विसं २०८२ मङ्सिरभित्रै गर्नुपर्ने व्यवस्थाअनुसार नै हुने बताए।

पछिल्लो समय विसं २०८४ को आम चुनावपछि महाधिवेशन हुने चर्चा चलिरहेको भन्दै महामन्त्री थापाले महाधिवेशनलाई लामो समय गुजार्न नहुने तर्क गरे । “तपाईहरू भ्रममा नपर्नुहोला महाधिवेशन निर्धारित समयमै हुन्छ । अधिवेशनअघि पार्टीभित्रका आन्तरिक समस्या समाधान गर्ने गरी काम भइरहेको छ”, उनले भने ।

महामन्त्री थापाले मुलुकको विकासका लागि कांग्रेस नेतृत्वमा थुप्रै काम भए पनि प्रचार गर्न नसकिएको धारणा राखे। उनले अबको १० वर्षमा नेपाललाई समृद्ध बनाउने गरी पार्टीले सुशासन, स्थायित्व र विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

महामन्त्री थापाले सरकारले कामको गति बढाउनुपर्ने आवश्यकता औँल्याए। उनले भने, “सरकारले नियमित काम गरे पनि परिणाम देखिने गरी काम भएको छैन । त्यसैले कार्यशैली सुधार गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता छ । दुई ठूला दल मिलेर सरकार बनाए पनि जनतालाई आशा जगाउने गरी काम गर्न नसके थप समस्या हुनसक्छ ।”

कमेन्टहरु