काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा देखिएको विवादमा ‘नो केबलकार समूह’ ले काठमाडौंको माइतीघर मण्डलामा पनि प्रदर्शन गरेको छ । आज (सोमबार) विभिन्न प्लेकार्डसहित केबलकारको विरोधमा समूहले प्रदर्शन गरेको हो । प्रदर्शनमा उत्रिएका आन्दोलनरत पक्षले गृहमन्त्री रमेश लेखकको राजीनामा समेत माग गरेका छन् ।
उनीहरूले असक्षम गृहमन्त्रीले राजीनामा दे !, नो केबलकार, हजारौं प्रजातिका रुखहरू काट्ने विकास चाहिँदैन, सीडीओलगायत दोषीलाई कारबाही गर, गिरफ्तार नागरिकलाई रिहाइ गर, मुक्कुम्लुङमा राज्य आतंक बन्द गर, लगायतका नारासहितका प्लेकार्ड बोकेका छन् । गत माघ १२ मा प्रहरीसँग भएको झडपका क्रममा दुई जनालाई गोली लागेको थियो ।
त्यसयता केबलकार विरोधी समूहले आन्दोलन चर्काउँदै आएको छ । पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा एक सातादेखि जारी यातायात बन्दले सुदूरपूर्वी पहाडी जिल्लाको जनजीवन प्रभावित भएको छ । गत माघ १२ मा ‘नो केबलकार समूह’ र प्रहरीबीचको झडपमा दुई जनालाई गोली लागेपछि आन्दोलनरत पक्षले यातायात बन्द आह्वान गरेको हो ।
आन्दोलनरत पक्षले केबलकार निर्माणको काम तत्काल रोक्नुपर्ने, गिरफ्तार गरिएका प्रदीप मादेन, चन्द्रसागर लिम्बू र लक्ष्मण लिम्बूलाई रिहा गर्नुपर्ने, काफ्लेपाटीमा रहेको सशस्त्र र नेपाल प्रहरीको टोली प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालेका अनुसार वार्ता र संवाद भइरहेको छ । ‘प्रदेश र सङ्घीय सरकारमार्फत पनि वार्ता र समन्वय हुनेछ । जिल्लाबाट पनि गरिँदै छ’, उनले भने, ‘जिल्लामा शान्ति सुरक्षा प्रवाह, अलपत्र परेका यात्रुको उद्धारलगायत काम गरिरहेका छौँ । आज पनि केही तीर्थयात्री र पर्यटक जिल्ला भित्रिएका छन् । उहाँहरूलाई सुरक्षा दिनेछौं ।’


























