मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
क्यूडी गाउँमा पहिलो पटक गाडी पुग्दा स्थानीय उत्साहको लहर


सन्तोष प्रसाद जोशी
बाजुरा, माघ २० । बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको वडा – ५ क्यूडी गाउँमा पहिलो पटक गाडी पुगेपछि स्थानीय वासी खुशी भएका छन । वर्षौंदेखि यातायातको सुविधाबाट बन्चित गाउँमा गाडी पहिलोपटक प्रवेश गरे सँगै विकासको नयाँ फट्को सुरु भएको छ । जिल्लाकै दुर्गम भेगका बासिन्दाहरूले गाडी चल्ने सपना देखे पनि कठिन भूगोल, कमजोर पूर्वाधार र आर्थिक अभावका कारण सम्भव हुन सकेको थिएनन् । हिमाली गाउँपालिकाको लामो प्रयास सहयोगले गर्दा अन्ततः गाउँ घरको दैलोबाट गाडी चढने सपना साकार भएको छ ।
क्यूडी गाउँमा गाडी पुर्याउन निकै कठिन चुनौती थियो । यहाँ पुग्ने बाटो पहाडैपहाडले भरिएको कारण सडक निर्माण कार्य झन् कठिन थियो । धेरै पटक प्रयास गर्दा पनि प्राकृतिक अवरोध तथा आर्थिक अभावका कारण गाडी प्रवेश गराउने योजना पूर्ण हुन सकेको थिएन । स्थानीय तह, विभिन्न सरकारको पहलमा निरन्तरको मेहनतले आज क्युडि गाउँमा गाडी पुग्न सफल भएको छ ।
यस ऐतिहासिक क्षणमा स्थानीय बासिन्दाहरूको हर्षको सीमा रहेन । गाडी गाउँमा प्रवेश गरेपछि धेरै मानिसहरू हर्षित हुँदै सडक किनारमा बालबालिका, युवा तथा वृद्धवृद्धासमेत गाडी हेर्नका लागि लामबद्ध भएका हुन । स्थानीय मान्छेहरु धेरैले मोबाइलमा फोटो तथा भिडियो खिच्दै यो अविस्मरणीय क्षणलाई कैद गर्दै गरेको हिमाली गाउँपालिका – ५ का वडा अध्यक्ष प्रदिप थापाले बताउनुभयो ।
क्यूडी गाउँ लामो समयदेखि यातायात सुविधाबाट वञ्चित थियो । यहाँका स्थानीयले आवश्यक सामग्रीहरु बोकाएर वा खच्चरमा सामान ल्याउनुपर्ने बाध्यता थियो । बिरामी परेमा स्ट्रेचरमा बोकेर घण्टौं हिँडेर अस्पताल पुर्याउनु पर्ने अवस्था थियो । दैनिक उपभोग्य सामानहरू महँगो मूल्यमा खरिद गर्नुपर्ने बाध्यता थियो रहेकोे थियोे । किनकि यातायातको अभावमा ढुवानी खर्च धेरै महँगो पर्थ्यो । गाडी पुगेपछि अब यहाँका बासिन्दालाई यातायातको सुविधा मिल्नेछ । गाउँका बिरामीलाई छिटो अस्पताल पुर्याउन सकिने, व्यापार व्यवसाय गर्न सजिलो हुने, सामानको ढुवानी लागत कम हुने र समग्र रूपमा स्थानीयको जीवनशैलीमा परिवर्तन आउने भएको छ ।
गाडी गाउँमा प्रवेश गरेपछि स्थानीयवासीको प्रतिक्रिया निकै भावुक थियो । गाउँका एकजना ७५ वर्षीय वृद्धले भने, “यो दिन हामीले कहिल्यै कल्पना गरेका थिएनौं । हाम्रा बालबच्चाले अब सहज जीवन बिताउन सक्नेछन् । गाडी चल्न थालेपछि हाम्रो गाउँको अवस्था फेरिनेछ।” अर्का एक जना स्थानीय बासिन्दाले भने, “हामीले बर्षौं यातायातको अभावमा धेरै दुःख सहनुपर्यो । अब हाम्रो गाउँका केही उत्पादनहरू सजिलै बजार पुर्याउन सकियो भने व्यापार फस्टाउनेछ ।” गाडी गाउँसम्म पुगेपछि अब नियमित यातायात सञ्चालन गर्ने योजनामा सरोकारवालाहरू लागिपरेका छन् । हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लका अनुसार अबको मुख्य लक्ष्य भनेको सडकलाई अझ राम्रो बनाउनु, सुरक्षित यात्राका लागि आवश्यक पूर्वाधार निर्माण गर्नु, र यातायात सेवा नियमित गर्ने उहाँले बताउनुभयो ।
यस ऐतिहासिक क्षणले क्युडि गाउँलाई आधुनिक विकासतर्फ अघि बढाउने विश्वास गरिएको छ । स्थानीयवासीको सक्रिय सहभागिता, सरकारको प्रतिबद्धता र विकास प्रेमीहरूको सहयोगमा अब क्युडि गाउँमा यातायात मात्र होइन, अन्य पूर्वाधार विकासको कार्य पनि तीव्र गतिमा अघि बढाउने उहाँले बताउनुभयो । क्युडि गाउँमा पहिलो पटक गाडी प्रवेश गर्नु केवल यातायातको सुरुवात मात्र होइन, यहाँको विकासको आधारशीला पनि हो। गाडी पुगेपछि स्थानीयको जीवनमा महत्वपूर्ण परिवर्तन आउने विश्वास गाउँपालिका अध्यक्ष मल्लले व्यक्त गर्नुभयो । यातायातको सहजताले शिक्षा, स्वास्थ्य, व्यापार तथा सम्पूर्ण क्षेत्रमै सुधार हुने उहाको भनाई छ ।
ऐतिहासिक उपलब्धिमा संलग्न सबै पक्षलाई धन्यवाद दिँदै स्थानीयहरू अब गाउँको दिगो विकासतर्फ अगाडि बढ्न तत्पर छन् । गाडी सञ्चालनको यो सफलताले गाउँपालिकाका अन्य दुर्गम गाउँहरूमा पनि विकासको ढोका खोल्ने अध्यक्ष मल्लले बताउनुभयो























