कर्णाली प्रदेश

हिल्सामा जम्यो कर्णाली नदीमाथि बरफ

नवलपुर टुडे
२०८१ माघ १९ | मध्यान्ह ०५:१० बजे
हिल्साको नदीमाथि जमेको बरफ । तस्बिरः सौजन्य, ललितबहादुर रावत, हिल्सा

सिमकोट । नेपाल र चीनको सिमानामा रहेको कर्णाली नदीमाथि बरफ जमेको छ। चिसो अत्यधिक बढेर तापक्रम दिउँसै माइनसमा झरेपछि नदीको पानीमा बरफ जमेको हो।

सीमा प्रहरी चौकी हिल्साका प्रहरी सहायक निरीक्षक ललितबहादुर रावतले हिल्सामा कर्णाली नदीमाथि बरफ जमेर मानिस वारपार गर्न सकिने अवस्था रहेको बताए।

उनले हिल्सामा बिहान–बेलुका तापक्रम माइनस १४ डिग्री सेल्सियससम्म पुग्ने र दिउँसो दश डिग्री सेल्सियसमा झने भएको कारण चौबीसै घण्टा नदीमा बरफ जम्ने गरेको जानकारी दिए।

हिल्सामा नदीको क्षेत्रभर बरफ जमेर सेताम्मे देखिने गरेको जानकारी दिँदै उनले नदी माथि जमेको बरफमा वारपार गर्न सकिने पनि बताए। हिल्सा क्षेत्रको सात मिटर लामो नदीमा बरफ जमेको छ।

यसअघि नदीको क्षेत्रभर बरफ कहिल्यै नजमेको तर यस वर्ष चिसो बढी भएको कारण बरफ जमेको स्थानीयले बताएका छन्।
हिल्सामा नदी वारी नेपाल र नदी पारी चीन पर्छ। बिगतमा पनि केही निश्चित स्थानमा मात्र बरफ जम्ने गरेको स्थानीयको भोगाइ छ।

केही समयअगाडि नदीमाथि जमेको बरफको दुईपट्टि गस्ती गरेर दुवै देशका सुरक्षाकर्मीले सीमा अनुगमन गरेका थिए। हिल्सामा हाल जनपद, सशस्त्र प्रहरी र सात जना स्थानीय होटल कुरावा बस्दै आएका छन्।

हिल्सामा बस्दै आएका सुरक्षाकर्मी र स्थानीयले नौमुलेको मुहानमा जमेको बरफलाई फुटाएर खानेपानीको व्यवस्था गर्दै आएका छन्। नारामा दुई फिट हिउँ जमेका कारण अन्य मानिसको आवतजावतसमेत बन्द भएको छ।

कमेन्टहरु