सरकारले विधेयक अधिवशेनलाई अध्यादेश अधिवशेन बनाउन खोज्योः नारायणकाजी


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद नारायणकाजी श्रेष्ठले सरकारले विधेयक अधिवेशनलाई अध्यादेश अधिवेशन बनाएको आरोप लगाएका छन्। राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै उनले हिउँदे अधिवेशनअघि सरकारले अध्यादेश ल्याएर अध्यादेश अधिवेशन बनाउनु दुःखद् भएको बताएका हुन्।
उनले नियमित अधिवेशन समयमा नबोलाउने र अध्यादेश धमाधम ल्याउनु दुःखद् भएको उल्लेख गरे। उनले सरकारले अध्यादेशबाट शासन गर्ने प्रवृत्ति लिएको भन्दै आपत्ति जनाए। उनले भने, ‘यो अधिवेशनलाई सरकारले अध्यादेश अधिवेशन बनायो। हिउँदे अधिवेशन, नियमित अधिवेशन समयमा नबोलाउने, त्यसलाई पर धकेल्दै लैजाने, अनि अध्यादेशहरु धमाधम जारी गरेर ६ वटा अध्यादेश यो अधिवेशन बोलाउनु अगाडि जारी गरियो। र अहिले त्यो अध्यादेश प्रस्तुत हुँदैछ।
विधेयक अधिवशेनलाई अध्यादेशको अधिवशेन बनाउन खोज्यो सरकारले त्यसप्रति म दुःख प्रकट गर्दछु। सरकारको अध्यादेशबाट शासन गर्ने यो प्रवृत्तिप्रति घोर आपत्ति प्रकट गर्न चाहन्छु।























