‘मिल्क होलिडे’ हुनबाट रोक्दै चितवनका दुग्ध उद्योग

चितवन, माघ १८ । भरतपुर महानगरपालिका–१ ठिमुरास्थित चितवन मिल्क उद्योग छ । यहाँ आज बिहान पनि दूध बोकेका ट्याङ्करको लामो लाइन लागेको थियो । सहकारी र निजी डेरी फार्महरूले सङ्कलन गरेको दूध बजारमा खपत हुन नसकेपछि ती ट्याङ्करहरू उद्योगमा दूध बोकेर आएका थिए । बजारमा दूध खपत नभएपछि प्रशोधन गरेर धुलो बनाउन ती ट्याङ्कर यहाँ आएका हुन् ।
वैशाखदेखि असोजसम्म दूधको उत्पादन कम हुने गर्दछ । यो समयमा अरू बेलाको तुलनामा ४० प्रतिशतसम्म दूध कम हुने आँकडा छ । बढी उत्पादन भएको बेला दूधलाई प्रशोधन गरेर पाउडर र बटर बनाउने गरिन्छ ।
नेपालमा चितवन मिल्कसहित पोखराको सुजल, भक्तपुरको शिवपुरी, विराटनगरको सूर्योदय र सगरमाथासँगै बागमती प्रदेशको हेटौँडा डेरीले दूधको धुलो बनाउने गरेका छन् । क्षमताको हिसाबले चितवन मिल्कले सबैभन्दा बढी प्रशोधन गर्ने गरेको नेपाल डेरी उद्योग सङ्घले जनाएको छ ।
मङ्सिर र पुस महिनामा दैनिक दुई लाख ५० हजार लिटर दूध प्रशोधन हुने गरेकामा माघ लागेपछि सबै उद्योगले गरी दैनिक दुई लाख लिटर दूध प्रशोधन हुँदै आएको छ । चितवन मिल्कले भने दैनिक ८० हजार लिटर दूध प्रशोधन गर्दै आएको छ । उद्योगका प्रबन्धक दुर्गा पराजुलीका अनुसार उद्योगले एक ‘सिफ्ट’मा एक लाख लिटरसम्म दूध प्रशोधन गर्न सक्छ भने २४ घण्टा सञ्चालन गर्दा दुई लाख लिटर दूध प्रशोधन हुन्छ । उपकरणमा केही खराबी देखिएकाले अहिले एक सिफ्टमा ८० हजार लिटर मात्रै प्रशोधन गरिँदै आएको उहाँले जानकारी दिनुभयो । प्रबन्धक पराजुलीले भन्नुभयो, “हामीले यो बेला प्रशोधन नगर्ने हो भने किसानले मिल्क होलिडे बेहोर्नु पर्छ ।”
हाल सो उद्योगमा देशैभरबाट दूध आउने गरेको छ । १२ वटा सहकारी संस्था र करिब ५० वटा निजी डेरीले यहाँ दूध पठाउने गरेका छन् । विसं २०७५ सालदेखि उद्योगले डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गरिरहेको प्रबन्धक पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिलिटर पाउडर दूधको रु एक सय १३ र घ्यू (बटर) को प्रतिकिलो रु ५५ लिएर उद्योगले प्रशोधन गर्दै आएको छ । विसं २०६४ मा स्थापना गरिएको उक्त उद्योग भूकम्पसँगै बन्द भए पनि पुनः सञ्चालनमा आएको थियो ।























