एकताले राष्ट्रिय भावनालाई थप मजबुद बनाउन सहयोग पुग्छ : उपराष्ट्रपति


काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाली सामाजिक विविधताभित्र सुदृढ र प्रगाढ एकताले नेपालको राष्ट्रिय भावनालाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
सोनाम ल्होसारको उपलक्ष्यमा आज शुभकामना व्यक्त गर्दै उनले सांस्कृतिक धरोहरका रूपमा रहेको यस पर्वलाई सम्पूर्ण नेपालीको पहिचान र आत्मसम्मानको प्रतीकका रूपमा मनाउन सक्नुपर्ने उल्लेख गरे ।
नेपालका विभिन्न भूभागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चालगायतले आ–आफ्नो मौलिक संस्कृति र परम्पराअनुसार नयाँ वर्षका रूपमा यो पर्व मनाउने चलन रहिआएको छ । यस पर्वको मुख्य विशेषताहरूमा सामूहिकता, भूमिपूजा, कुलपूजा, दानदक्षिणा र ढोगभेटका साथ आपसमा शुभकामना आदानप्रदान गर्नुलगायतको रहेको पाइन्छ ।
उपराष्ट्रपति यादवले आपसी रिस, राग, वैमनस्यता, उच्छृङ्खलता, द्वन्द्व र द्वेष बिर्सेर परस्पर खुसी र उल्लास साटासाट गर्न सोनामल्होसारले सबैलाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् । “नेपालको संविधानले गणतन्त्र, सङ्घीयता, समानता, समावेशिता, धर्मनिरपेक्षता र कानुनी राज्यलाई अङ्गीकार गरेको छ । हाम्रो गणतन्त्रात्मक संवैधानिक व्यवस्था प्रणालीले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहु–वेशभूषा आदिलाई संरक्षण गर्दै सबै क्षेत्र, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई परस्पर जोड्ने काम गरेको छ । यस पर्वले पनि त्यसमा उत्प्रेरित गर्ने विश्वास लिएको छु”, उनको भनाइ छ ।























