मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
जडिबुटीबाट एक लाख राजस्व संकलन


बाजुरा, माघ १६ । जिल्लाको पुर्वी क्षेत्रमा रहेको हिमाली गाउँपालिका- १ को वडा कार्यालयमा जडिबुटीबाट एक लाख राजस्व संकलन भएको छ। असोज महिना वडा भित्र भएको जटामसी जडिबुटीबाट एक महिनामा करिब १ लाख राजस्व संकलन गरिएको वडा सचीव सनजीव चौधरीले बताएका छन ।
जडिबुटी थुप्रै किसिमको पाइने गर्छ । वडामा विशेषगरी भुल्ते र जटामसीबाट बढी राजस्व उठ्ने गरेको छ । यो वर्ष भुल्ते बन्द गरिएको हुँदा जटामसीबाट सबैभन्दा बढी राजस्व आउने सम्भावना रहेको छ । यो सालमा जटामसी वडाबाट १ सय क्विन्टल जडिबुटी बाहिरिएको छ ।
बाजुरा जिल्लाको दुर्गम बिच्छ्या जडिबुटी प्रशस्त भएको ठाउँ मानिन्छ । बिच्छ्यामा हाल हिमाली गाउँपालिका वडा नम्बर १,२ र ३ जडिबुटी पकेट क्षेत्रमा पर्छन् । यहाँ सेती चिनी, जटामसी, सतुवा, चिराइतो, रातो च्याउ, पाँच औले, लसुन, गुच्ची च्याउ, पदमचाल, कटुकी, र सिलाजित लगायत जडिबुटी पाउने गर्छ । कतिपय नाममै नचिनेको जडिबुटी बन जङ्गलमा पाइने गरेको हिमाली गाउँपालिका – १ का वडा अध्यक्ष जोख्या भण्डारीले बताएका छन ।
जडिबुटी संरक्षण गरियो भने वर्षमा लाखौं रकमको राजस्व उठाउने सम्भावना रहेकोे छ । अहिलेसम्म जटामसी र भुलत्यबाट राजस्व वडा कार्यालय रसिद काटेर उठाउने गरेको छ । बिच्छ्यामै जडिबुटी प्रशोधन संगै प्रबर्द्धन गर्ने सकियो भने कतिपय बेरोजगारी युवा गाउँमा रोजगार सिर्जना हुने सम्भावना देखिन्छ । गाउँमा जडिबुटी उत्पादन गर्ने उत्पादन गरेको बस्तुलाई बिहिर दिन सकियो भने गाउँ घरमा केहि युवा बेरोजगारीबाट मुक्त हुने अवस्था रहेकोे छ ।























