मुख्य समाचार, मौसम, समाचार, सुदुरपश्चिम प्रदेश
चैतमा फुल्ने लालीगुराँस माघमै


बाजुरा, माघ १४ । बाजुरा जिल्लाको उच्च हिमाली क्षेत्रमा लालीगुराँस फुल्न थालेका छन् । यो वर्ष चैतमा फुल्ने लालीगुराँस माघमै फुलेको छ । गुराँस फुल्ने मौसम फागुनदेखि चैत, वैशाख महिना भए पनि माघ पहिलो सातादेखि वनभरि ढकमक्क गुराँस फुलेपछि बाजुराका स्थानीय अचम्मित भएका छन् ।
‘पहिले चैत वैशाखमा लालीगुराँस फुल्ने गर्थ्यो यो वर्षदेखि माघमै फुल्यो आश्चर्य भएको हिमाली गाउँपालिका – ५ का स्थानीय राज मलालले बताएका छन । बाजुरामा गुराँसजस्तै अन्य बोटबिरुवामा पनि नयाँ पालुवा लाग्न थालेको स्थानीयहरू बताउँछन् । यो वर्ष हिमपात र पानी पनि समयमै परेको छैन । जलवायु परिवर्तनको असरका कारण हिमाली भेगमा मौसम अगावै गुराँस फुल्ने र फलफूलका बोटमा दाना लाग्न थालेका छन् ।
अघिल्ला वर्षहरूमा मङ्सिर पुसमा हिमपात हुने गरेको भएपनि यो वर्ष बाजुरामा छुटफुट हिमपात मात्रै भएको र हिउँदे वर्षा पर्याप्त नहुँदा खेतीपाती राम्रो नहुने स्थानीय बताउँछन् । हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर मल्लले हिमाली भेगमा लालीगुराँस फुल्न थालेसँगै वन राताम्मे देखिन थालेको बताए । यसरी समयअगावै लालीगुराँस फुल्नु जलवायु परिवर्तनको असर देखिएको उनको भनाइ छ ।























