बैंक ग्यारेन्टीमा छुटेपछि रवि लामिछाने मध्यरातमै हिँडे पोखरा


बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बैंक ग्यारेन्टी बुझाएर रिहा भएका छन् । लामिछानेले बैंक ग्यारेन्टीमार्फत रुपन्देही जिल्ला अदालतमा १ करोड धरौटी बुझाएका हुन् । आइतबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले बुटवलको सुप्रिम सहकारीमा रकम अपचलन गरेको आरोप लागेका लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्न आदेश दिएका थिए । सोही अनुसार उनी बैंक ग्यारेन्टीमार्फत धरौटी बुझाएर रिहा भएका हुन् ।
लामिछानेले रुपन्देही जिल्ला अदालतमा एक करोड धरौटी बुझाएर रिहा भएलगत्तै राति नै पोखरातर्फ लागेका छन् । त्यसलगत्तै सभापति लामिछाने भैरहवाबाट गाडीबाट पोखरा प्रस्थान गरेका रास्वपा लुम्बिनी प्रदेशका उपाध्यक्ष शालिकराम घिमिरेले बताए । आइतबार अबेर आएको फैसलापछि रकम धरौटीका लागि केहीबेर समय लागेको थियो । प्रभु बैङ्कमार्फत धरौटी बुझाएर रिहा भएका लामिछानेले केहीबेर आफ्ना नेता कार्यकर्तासँग खुसी साटेका थिए।
मंगलबारदेखि भैरहवाको होटल मेरीगोल्डमा बस्दै आएका थिए । बुटवलको सुप्रिम सहकारीमा रकम अपचलन गरेको आरोपमा मुद्दा दर्ता भएपछि उनी यहाँ आएका थिए । लामिछाने श्रीमती निकिता पौडेलसहित सचिवालयका ११ जनाको टोली लिएर पोखरा लागेका हुन् । जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटी बुझाएपछि थुनामा बस्न नपर्ने निर्णय गरेको थियो ।























