अपराध

रवि लामिछानेको आजै थुनछेक आदेश आउने संभावना

नवलपुर टुडे
२०८१ माघ १३ | बिहान ०९:१० बजे

बुटवल। बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पनि अदालत उपस्थित हुँदैछन् । शुक्रबार थुनछेक बहस नसकिएपछि पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई परिवारको जिम्मा लगाइएको थियो ।

रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबार रविको बयान भइ बिहीबारदेखि थुनछेक बहस शुरू भएको थियो । सम्भवतः आज थुनछेककाे फैसला आउने सम्भावना रहेकाे अदालत स्राेतले जनाएको छ ।

रविसहित ४२ जनालाई अभियुक्त बनाउँदै रूपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो । सुप्रिम सहकारीको १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको खुलेको थियो ।

जसमध्ये दुई करोड रुपैयाँ प्रक्रिया पूरा नगरी लामिछानेको नाममा ऋण गएको उल्लेख थियो । रविसहितका आरोपीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको ठगी कसुर र संगठित अपराधको मुद्दामा सजाय माग गर्दै मुद्दा दर्ता भएको थियाे ।

कमेन्टहरु