सरस्वती पूजा आउनै लाग्दा मूर्तिकारहरू मूर्ति बनाउन व्यस्त


जलेश्वर (महोत्तरी) । सरस्वती पूजा नजिकिँदै जाँँदा जिल्लाको विभिन्न स्थानमा मूर्तिकारहरू धमाधम मूर्ति बनाउन थालेका छन् ।
दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा अवस्थित सबै सामुदायिक तथा निजी विद्यालय, कोचिङ सेन्टर, ट्युशन सेन्टर, क्लब, पुस्तकालयसहित गाउँ तथा नगरका विभिन्न चोकचोकमा सरस्वती पूजाका लागि मूर्तिकारलाई मूर्ति बनाउन भ्याइनभ्याई छ ।
आफ्नो चार पुस्तादेखि मूर्ति बनाउने पेसा चल्दै आएको एकडारा गाउँपालिका–५ का मूर्तिकार सुभाष पण्डितले सरस्वती पूजाका बेला अत्यधिक मूर्तिको माग हुने गरेको कारण अहिले सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याई भएको बताए । त्यस्तै पूजाको अब १० दिन मात्र बाँकी हुँदा औरही नगरपालिका–२ का कैलाश रामलाई पनि मूर्ति बनाउन भ्याइनभ्याई छ।
सरस्वतीको मूर्ति बनाउनमै व्यस्त जलेश्वर नगरपालिका–२ का विकाऊ पासवान पनि अहिले मूर्ति बनाउन भ्याइनभ्याइ भएको बताउँछन् । मूर्ति बनाउन चाहिने माटो, खर (पराल, भुस) रङ, जुटलगायत वस्तुको जोहो गर्नु, घामपानी र वातावरणअनुसार मूर्ति बनाउनु जस्ता क्रियाकलाप गर्नुपर्ने भएकाले मूर्तिकारलाई अहिले भ्याइनभ्याई भएको उनीहरू बताउँछन् ।
“घाम उदाएपछि मात्रै मूर्ति सुक्ने र मूर्ति सुकेपछि मात्रै राम्ररी रङ्ग रोगन गर्न मिल्ने भएकाले जति बढी घाम उदाउँछ, त्यति नै बढी मूर्ति तयार गर्नु पर्छ”, मूर्तिकार पण्डितले बताए। उनले आफू र आफ्ना बुवा शम्भु पण्डित मिलेर प्रत्येक वर्ष रु ५० हजारभन्दा बढीका सरस्वती मूर्ति बनाउने गरेको बताए। साथै मौसमले साथ दिएमा ७०/७५ सम्म पनि मूर्ति बनाएर बेच्ने गरेको उनको भनाइ छ ।
त्यसैगरी मूर्तिकार कैलाश पनि आफू तथा आफ्ना परिवारका सदस्य मिलेर वर्षेनी ६०/७० वटा मूर्ति बनाउने गरेको बताउँछन् । उनले वर्षेनी २५ भन्दा बढी मूर्ति बनाउने गरेको बताए।
आफ्नो क्षमता र साधन श्रोतले तयार गर्ने संख्याका अनुसार उनीहरुको आम्दानी पनि फरक फरक हुने गरेको छ । यसरी तयार गरेका मूर्तिहरु रु दुई हजारदेखि रु ७ हजारसम्ममा बेचेर वार्षिक रु दुई लाख जति आम्दानी गर्ने गरेको पण्डितले बताए।























